काठमाडौं–अविरल वर्षाका कारण अछामको रामारोशन गाउँपालिकामा मंगलबार राति भीषण बाढी आएको छ। रामारोशन गाउँपालिका ३ सान्तडाको सैनिबजारको बस्ती नै बगाउँदा १५ जनाभन्दा बढी सम्पर्कविहीन भएका छन्। मध्यराति कैलाश खोलामा बाढी आएकाे जनाइएकाे छ।
प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याले गाउँपालिकाबाट क्षतिकाे खबर आएको बताए । उनका अनुसार नदीले बगाएकामध्ये चार शव प्राप्त भएको छ। 'ठूलो जनधनको क्षति भएको खवर छ घटनास्थलमा सदरमुकामसहित विभिन्न प्रहरी चौकीबाट सुरक्षा टोली गइरहेकोले पूर्ण क्षतिको विवरण आउन सकेकाे छैन,' प्रजिअ उपाध्यायले भने।
डिएसपी दीपक भारतीका अनुसार बाढीले रामारोशन सैनी बजारका २२ पसल बगाएका छन्।
सञ्चार र सडक अवरोधका कारण मानवीय, भौतिक र अन्य क्षतिको विवरण संकलन र उद्दारमा समस्या भइरहेको जनाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।