वालिङ– यहाँका एक ८४ वर्षीय वृद्धले शिव पार्वती वृद्धाश्रममा १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।
स्याङ्जाको वालिङ नगरपालिका–६, मिर्दी निवासी जयबल्लभ तिवारीले वृद्धवृद्धाको स्वास्थ्योपचार लगायतका क्षेत्रमा प्रयोग गर्ने गरी अक्षयकोष स्थापना गरेको शिव पार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाका अध्यक्ष कविता गैह्रेले बताइन्।
‘आफू पनि वृद्ध भएकाले वृद्धवृद्धाको समस्या मैले बुझेको छु’, अक्षयकोष निर्माणकर्ता तिवारीले भने,‘विशेषगरी वृद्धवृद्धाको स्वास्थ्योपचारका क्षेत्रमा प्रयोग गर्ने योजना भए पनि अक्षयकोषको नाम र रकम प्रयोगका लागि फेरि निर्णय गर्नेछु।’
स्याङ्जा र पाल्पाको संगमस्थल रामनदी धाम, राम्दीमा हाल ७३ जना वृद्धवृद्धा आश्रय लिएर बस्दै आएका छन्। यसैबीच, मंगलबार तिवारीले आफ्नो चौरासी पूजाको अवसर पारेर वृद्धवृद्धालाई भोजन, दान दक्षिणा तथा लत्ताकपडा वितरण गरेका छन्।
त्यस्तै, मंगलबार नै वृद्धाश्रममा बस्दै आएका वृद्धवृद्धाको भोजनका लागि वालिङ नगरपालिका–८, वालिङ बस्ने बालप्रसाद श्रेष्ठले १ लाख ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।