काठमाडौं– एक नेपाली युवा इन्स्टाग्रामबाट हटाइएका तस्बिर र ‘म्यासेज’ कम्पनीको सर्भरमै रहने समस्या देखाइदिएबापत ६ हजार अमेरिकी डलरबाट पुरस्कृत भएका छन्। २१ वर्षीय सौगात पोखरेललाई सामाजिक सञ्जालको साइट इन्स्टाग्रामले पुरस्कृत गरेको हो।
इन्टरनेट सुरक्षाबारे अनुसन्धान गर्ने पोखरेललाई इन्स्टाग्रामले आफ्नो सुरक्षा कमजोरी पत्ता लगाएको धन्यवादस्वरुप पुरस्कार रकम प्रदान गरेको जनाएको छ। पोखरेलले तथ्यांक डाउनलोड गर्ने एप्लिकेसन प्रयोग गरी इन्स्टाग्राममा रहेको यस्तो गल्ती पत्ता लगाएका थिए।
यसअघि इन्स्टाग्रामले प्रयोगकर्ताले डिलिट गरेका तस्बिर र सन्देश पूर्णरुपमा हट्न ९० दिन लाग्ने दाबी गर्दै आएको थियो तर सौगातले एक वर्षभन्दाअघिका यस्ता सामग्रीहरु पनि कम्पनीको सर्भरमा रहेको प्रमाण दर्ज गरेका थिए।
नेपाली युवा सौगातले सुरक्षात्मक गल्ती देखाइदिएपछि इन्स्टाग्रामले यसमा सुधार ल्याइएको दाबी गरेको छ। इन्स्टाग्रामका प्रवक्ता टेकक्रन्चसँग कुरा गर्दै उक्त सुरक्षा कमजोरी समाधान भइसकेको जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।