बुडापेस्ट– हंगेरीका प्रधानमन्त्री भिक्टोर ओर्बानविरुद्ध राजधानी बुडापेस्टमा शनिबार दोस्रो वृहत प्रदर्शन भएको छ।
गत अप्रिल ८ मा लगातार तेस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका ओर्बानविरुद्ध गत एक हप्तादेखि प्रदर्शन भइरहेको छ।
उनीहरुले संसद् भवन अगाडि प्रदर्शन गर्दै शहरका विभिन्न स्थानमा र्याली पनि निकालेका थिए। स्वतन्त्ररुपमा नागरिकले विरोध कार्यक्रमको आयोजना गरेका हुन्। प्रदर्शनकारीले अघिल्लो हप्ता नयाँ निर्वाचनको माग गरेका थिए। उनीहरुले विपक्षी दलहरुकाबीचमा सहकार्य गर्न पनि आग्रह गरेका छन्।
प्रदर्शनकारीमध्येका एक नागरिक बालाज गुलीसले नागरिकको तर्फबाट विरोध कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले विरोध कार्यक्रममा स्वतन्त्र न्यायाधिश र स्थानीय अधिकारी पनि सहभागी भएको बताए।
निर्वाचनमा भने हंगेरीका अनुदारवादी प्रधानमन्त्रीलाई अत्याधिक मतका साथ विजयी गराइएको थियो। उनको गठबन्धनले संसद्को १ सय ९९ सिटमा १ सय ३३ सिट जितेको थियो।
प्रधानमन्त्रीविरुद्धको आन्दोलनका बारेमा अहिलेसम्म पनि सरकारले कुनै प्रतिक्रिया जनाएको छैन।
प्रदर्शनकारीले तेस्रो बृहत प्रदर्शन आउँदो मे ८ तारिखका दिन गर्ने तय गरेका छन्। नवगठित संसद्को पहिलो बैठक बस्ने मौका पारेर उनीहरुले प्रदर्शनको तयारी गरेका हुन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।