क्वालालम्पुर– प्यालेष्टिनी प्राध्यापक तथा आतंकवादी संगठन हमासका एक नेताको मेलेसियाको राजधानी क्वालालम्पुरस्थित जावालामा गोली हानी हत्या गरिएको छ।
मलेसियन प्रहरीले शनिबार ३५ वर्षीय उर्जा मामिलाका विशेषज्ञ तथा वैज्ञानिक फादी मोहमद अल–बत्सको मोटरसाइकलमा सवार भएका हत्याराले गोली प्रहार गरी भागेको बताएको छ।
फादीका परिवारले सो घटनामा इजरायलको गुप्तचर संस्था मोसुदको हात रहेको आरोप लगाएका छन्। मलेसियाली अधिकारीहरुले हत्यामा अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सीको हात रहेको हुनसक्ने आशंका गरेका छन्। तर इजरायलले भने घटनाको बारेमा हालसम्म कुनै औपचारिक टिप्पणी गरेको छैन।
हमासले भने इजरायलमाथि विदेशमा आफ्ना विशेषज्ञको हत्या गरेको आरोप लगाएको छ। उता मोसुदले भने घटनामा आफ्नो संलग्नताको पुष्टि गरेको छैन।
फादी आफ्नो घरबाट नजिकै हरेको मस्जिदमा प्रार्थनाका लागि हिँडेर जाने क्रममा शनिबार स्थानीय समयअनुसार बिहान ६ बजे सो घटना गराइएको थियो। ‘मोटरसाइकलमा आएका २ बन्दुकधारीले १० राउण्ड फायर गरेपछि फादीको घटनास्थलमै मृत्यु भएको थियो।’, क्वालालम्पुरका प्रहरी प्रमुख माजलान लाजिमले भने।
उनले थपे, ‘सिसिटिभी फुटेजका अनुसार उनीसँगै यात्रा गरिरहेका अन्य दुईलाई कुनै पनि क्षति नहुनुले घटना सुनियोजित थियो भन्ने हाम्रो अनुमान छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।