नयाँ दिल्ली (एजेन्सी)- संसारको सबैभन्दा पाको उमेरको व्यक्तिको जापानमा निधन भएको छ। जापानी महिला नबी ताजिमाको एक सय १७ वर्षको उमेरमा शनिबार राति निधन भएको हो।
अस्वस्थ भएर जनवरीदेखि अस्पतालमा उपचाररत उनको शनिबार राति आठ बजेतिर निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
नबीको जन्म सन् १९०० अगस्ट ४ मा भएको थियो। उनका शाखा-सन्तान गरी एक सय ६० भन्दा बढी सदस्य थिए। उनको घर दक्षिणी जापानको क्युशूमा कागोशिमा प्रान्तमा थियो।
करिब सात महिनाअघि जमैकाका वायलेट ब्राउनको निधन भएपछि नबीलाई संसारकै जेठो व्यक्तिको पगरी दिइएको थियो। वायलेटको निधन पनि एक सय १७ वर्षको उमेरमा भएको थियो।
अमेरिकास्थित ‘गेरोनोलजी रिसर्च ग्रुप’ का अनुसार नबीको निधनपछि अब जापानकै महिला शियो योशिदा विश्वको जेठो व्यक्ति बनेकी छन्। उनको उमेर एक सय १६ वर्ष छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।