धनगढी- एम्बुलेन्स खरिदसम्बन्धी छानबिन गरी सार्वजनिक लेखा समितिको उपसमितिले तयार पारेको प्रारम्भिक प्रतिवेदनमाथिको छलफलमा अवरोध आएको छ। लेखा समितिका केही सदस्यहरुले उपसमितिको प्रतिवेदनमाथिको छलफल सुरु गर्नुअघि पूर्ण समितिमा समिक्षा हुनुपर्ने अडान राखेपछि छलफल प्रक्रिया अघि बढ्न सकेको छैन।
सार्वजनिक लेखा समितिका सभापति नन्दाकुमारी बमको संयोजकत्वमा गठित उपसमितिले एम्बुलेन्स खरिदबारे छानबिन गर्दा विधि, प्रक्रिया र पद्धति मिचेर काम गरेको आरोप समेत लगाएको छ।
शुक्रबार बसेको सार्वजनिक लेखासमितिको ७४ औं बैठकमा समितिका सदस्यहरु मानबहादुर धामी, बलबहादुर सोडारी, बलदेव रेग्मी र अम्मरबहादुर साउदले उपसमितिले प्रक्रियागत ढंगले प्रतिवेदन पेश नगरेकाले पूर्ण समितिमा समिक्षा गरेर मात्रै छलफल अघि बढाउने अडान राखेका थिए।
समितिको बैठकमा सदस्य धामीले प्रश्न गरे‚ ‘उपसमितिले प्रतिवेदन तयार गर्दा कुन विज्ञसँग छलफल गर्यो वा कोठाभित्रै बसेर तयार पारियो?’ उनले प्रतिवेदन पेश गर्ने प्रक्रियामै त्रुटी देखिएको दाबी गर्दै यसबारे उपसमितिले समितिको पूर्ण बैठकमा जवाफ दिनुपर्ने माग गरे।
समितिका अर्का सदस्य रेग्मीले भने‚ ‘अहिले हामीले जसरी काम गरिरहेका छौं, भोली त्यो ‘सिस्टम’ बन्न सक्छ। त्यसैले हामीले विधि, प्रक्रिया र पद्धतिलाई ध्यानमा राखेर काम गरौं।’
सदस्य रेग्मीले उपसमितिबाट भएका गल्तीहरुको समितिको पूर्ण बैठकमा छलफल गर्न माग गर्दै उनले भने‚ ‘उपसमितिले पूर्ण समितिमा प्रतिवेदन पेश नगर्दै, सञ्चार माध्यममार्फत प्रतिवेदन सार्वजनिक भइसकेको छ। अब कस्ता बैठकमा सञ्चारकर्मीलाई सहभागी गराउने वा नगराउने भन्नेबारे पनि सोच्न आवश्यक छ।’
बैठकमा सभापति नन्दाकुमारीले हतारहतारमा प्रतिवेदन ल्याएको स्वीकार गरिन्। उनले प्रतिवेदन तयार गर्दा विशेषज्ञहरुसँग छलफल गर्न नपाएको समेत बताइन्। उनले भनिन्‚ ‘विशेषज्ञहरुका लागि सचिवालयले बजेट उपलब्ध नगराएपछि मन्त्रालयले उपलब्ध गराएको कागजपत्रकै आधारमा हामीले प्रतिवेदन तयार गरेका हौं।’
उनले प्रतिवेदन ल्याउने क्रममा कुनै प्रक्रिया, पद्धति नअपनाइएको भए सच्याउन तयार रहेको बताइन्। बैठकमा उपसमितिका सदस्य मनाकुमारी साउदले प्रतिवेदन अपरिपक्व तयार गरिएको स्वीकार गरिन्। उनले भनिन्‚ ‘हामी (उपसमिति) ले एम्बुलेन्स खरिद प्रक्रियाबारे जसरी अध्ययन गर्नुपर्ने थियो, त्यसरी अध्ययन भएको छैन। न त हामीले विशेषज्ञहरुसँग छलफल नै गर्यौं।’
यसैबीच, लेखासमितिको शुक्रबारको बैठकमा समितिका सदस्य अम्मरबहादुर साउदको संयोजकत्वमा गठन गरिएको उपसमितिले सामुदायिक सिचाईं परियोजनाको प्रारम्भिक प्रतिवेदन समितिमा पेश गरेको छ।
समितिमा पेश भएका प्रतिवेदनमाथि कहिले छलफल अघि बढ्छ भन्ने बैठकले टुंगो लगाउन भने सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।