प्योङयाङ- उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परीक्षणलाई स्थगित गरेको छ।
विश्वकै लागि ठूलो तनावको विषयमा रुपमा लिइएको उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र परीक्षणलाई तत्कालका लागि बन्द गरिएको उत्तर कोरियाका नेता किम जोङ उनले बताए। सत्तारुढ दलको एउटा विशेष बैठकमा नेता उनले यस्तो घोषणा गरेका हुन्।।
उनको घोषणासँगै दक्षिण कोरिया र अमेरिकासँगको वार्ता सकारात्मक तरिकाले अगाडि बढ्ने विश्लेषकहरुले अनुमान गरेका छन्। नेता उनले आउँदो साता दक्षिण कोरियाका राष्ट्रपतिसँग र त्यसपछि जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
दुवै देशसँगको वार्ताको तयारी भइरहेका बेला उत्तर कोरियाको तीव्र परिवर्तनका खबर सार्वजनिक भइरहेका छन्।
शान्ति र आर्थिक वृद्धिका लागि आफ्नो देशले आणविक र क्षेप्यास्त्र परीक्षणलाई तत्कालका लागि बन्द गर्ने निर्णय लिएको नेता उनले बताएका छन्।
क्षेप्यास्त्र परीक्षणहरू बन्द गर्ने उनको घोषणालाई अन्य देशका नेताहरुले भने स्वागतयोग्य कदम भएको भन्दै प्रशंसा गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, 'यो उत्तर कोरिया र विश्वकै लागि अत्यन्त खुसीको खबर हो।'
उनले उनसँगको आफ्नो भेटवार्ता पनि फलदायी हुने सम्भावना बढेको बताएको सञ्चारमाध्यमहरुले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।