रुकुम- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका जनप्रतिनिधिले कम्प्युटर सिक्न सुरु गरेका छन्।
गाउँपालिका तथा वडाबाट हुने सिफारिस, निवेदनलगायतका काम कम्प्युटरबाट गर्नुपर्ने भएपछि वडाध्यक्षहरु, गाउँपालिकामा गठन भएका छ वटा विषयगत समितिका संयोजक र गाउँपालिका उपाध्यक्षले कम्प्युटर सिक्न थालेका हुन्।
कम्प्युटर प्रयोग गर्न नआउँदा समस्या हुने भएपछि जनप्रतिनिधिले तालिमको आयोजना गरेर सिक्न थालेका हुन्। प्रविधिमा कमजोर भएपछि गाउँपालिकाले नै जनप्रतिनिधिलाई प्रविधिका बारेमा जानकारी गराउने उद्देश्यले तालीम सञ्चालन गरिएको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीले बताए।
तालीममा सहभागी १० वडाध्यक्ष, ६ विषयगत समितिका संयोजक र गाउँपालिकाका उपाध्यक्ष गरी १७ जनाले माइक्रोसफ्ट अफिस, एक्सल, प्रिन्ट गर्ने विधिलगायत प्राविधिक शिक्षा पढिरहेका छन्। प्रविधिको प्रयोग गरेर सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले आधारभूत कम्प्युटर तालीमको आयोजना गरिएको अध्यक्ष केसीको भनाइ छ। गाउँपालिका तथा वडा कार्यालयबाट हुने सम्पूर्ण कामको अभिलेख कम्प्युटरमा राख्न लागेकाले जनप्रतिनिधिलाई कम्प्युटर सिकाउनुपरेको अध्यक्ष केसी बताउँछन्।
तालिमपश्चात् वडा तथा विषयगत समितिबाट हुने काम कम्प्युटरबाट सुरु गरिनेछ। वडा र विषयगत समितिलाई एक–एक सेट ल्यापटप तथा कम्प्युटरको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।