नयाँ दिल्ली- भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सामुद्रिक छाल आउने सम्भावना भएकाले सतर्क हुन शुक्रबार चेतावनी दिएको छ। छालसम्वन्धी पूर्वानुमान गर्ने निकायले अति शक्तिशाली सामुद्रिक छाल आउने बलियो संकेत देखिएकाले सतर्क हुन आह्वान गरेको हो।
सामुद्रिक किनारा भएका देशभरका सबै ठाउँका स्थानीय बासिन्दाले सतर्कता अपनाउनुपर्ने अधिकारीको भनाइ छ। प्राधिकरणका अधिकारीका अनुसार भारतको पश्चिमी सामुद्रिक किनारामा शनिबार बिहान र बंगालको खाडी क्षेत्रमा आइतबार सामुद्रिक छाल आउने चेतावनी दिइएको हो। आउँदो मंगलबार पनि सामुद्रिक छाल आउने सम्भावना उत्तिकै रहेको अधिकारीले बताएका छन्।
सामुद्रिक छालबाट विषेश गरेर भारतको लक्ष्यद्विप, दक्षिणी तमिलनाडु, बंगालको खाडी र केरला लगायतका क्षेत्र बढी प्रभावित हुने देखिएको छ।
'सामुद्रिक छालबाट प्रभावित हुन सक्ने क्षेत्रका मानिसलाई यसअवधिमा त्यहाँबाट अन्यत्र सुरक्षित ठाउँमा जान सल्लाह छ,' प्राधिकरणका अधिकारीले भनेका छन्।
उनीहरुले दक्षिण कर्नाटक र उत्तर तमिलनाडुमा भीषण वर्षा हुने अनुमान पनि गरेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।