काठमाडाैं- सरकारले वैदेशिक रोजगार बोर्डको सदस्यमा स्वास्थ्य व्यवसायी तथा स्वास्थ्य व्यवसायी संघका अध्यक्षसमेत रहेका कैलाश खड्कालाई मनोनित गरेसँगै आलोचना सुरू भएको छ। सत्तारुढ नेकपाका सर्लाही जिल्ला इञ्चार्ज डाचाराज वाग्लेले खड्कालाई मनाेनयन गरेकाेप्रति असन्तुष्टि जनाएका छन्।
वैदेशिक रोजगारीमा जाने कामदारसँग अर्बौं रकम असुलेको आरोप लागेर प्रहरीको फरार सूचीमा समेत परेका खड्कालाई सरकारले वैदेशिक रोजगार बोर्डजस्तो संवेदनशील कार्यालयको विज्ञ सदस्यको रुपमा मनोनित गरेको भन्दै आलोचना भएकाे हाे।
वाग्लेले फेसबुकमा लेखेका छन्, 'सामान्यतया उहीँ संस्थाले ठग भनेर आरोपित गरेको व्यक्तीलाई (उसले अदालतबाट सफाइ पाएकै भएपनि) उहीँ संस्थाले पुरस्कृत गर्नु नैतिक हिसाबले सही होइन। कानुनी हिसाबले चाहिँ हुन सक्ने रहेछ। तर, कैलाश खड्काको सवालमा श्रम मन्त्रालय हारेको हो। प्रतिवाले मुद्दा जितेको न हो। यसमानेमा आफैँलाई हराउने आफ्नै प्रतिवादीलाई श्रम मन्त्रालयले कुन हिसाबले पुरस्कृत गर्याे बुझी नसक्नु भयो।'
वैदेशिक रोजगारीलाई मर्यादित बनाउन तथा कामदारको हकहित संरक्षणका लागि स्थापना गरिएको बोर्डको विज्ञ सदस्यका रुपमा पटक पटक विवादमा मुछिएका खड्कालाई बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले मनोनित गरेका हुन्।
खड्कालाई तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारमाथि अर्बौं ठगी गरेको आरोप लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।