काठमाडौं- पूर्व स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका समाजवादी पार्टी (राष्ट्रिय जनता पार्टीसँग एकता गरी जनता समाजवादी पार्टी बनाउने घोषणा भइसकेको)का सांसद डा सुरेन्द्र यादव अपहरण प्रकरणको अनुसन्धान गर्न काठमाडौंबाट महोत्तरी गएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाउने काम सुरु गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका प्रहरी निरीक्षक देवी पौडेलको कमान्डमा शुक्रबार अपराह्न काठमाडौंबाट महोत्तरी प्रस्थान गरेको टोलीले शनिबार बिहान सांसद यादवको महोत्तरीको सम्सीस्थित घर पुगेर मुचुल्का उठाउन सुरु गरेको हो।
अपहरण प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेत, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, नेकपाकै सांसद कृष्णकुमार श्रेष्ठ (किसन) र गुन्डा नाइके नवीन बस्नेत सांसद डा यादवको घर पुग्दाको अवस्था, त्यहाँको विवरणलगायतका विषय समावेश गरी मुचुल्का उठाउने काम भइरहेको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ।
मुचुल्कामा कसुर भएको समयसहितको मिति, कसुर भएको स्थानको विवरण, चार किल्ला र रेखाचित्र, सम्बन्धित ठाउँको वस्तुस्थिति, कसुर वा कसुरदारसँगको सम्बन्ध, त्यस वरपर देखिएका प्रमाण र कसुरसँग सम्बन्धित विषय मुचुल्कामा समावेश गरिनेछ।
सांसद यादवको घरमा मुचुल्का उठाइसकेपछि उनीहरू बसेको तथा खाना खाएको भनिएको बर्दिबासस्थित गौतम होटलमा पुगेर पनि मुचुल्का उठाइने प्रहरीले जानकारी दिएको छ। उक्त होटलमा उनीहरुले खाएका खानेकुराको विवरणदेखि, सिसीटिभी फुटेज भएमा त्योसमेत प्रहरी टोलीले संकलन गर्नेछ।
महोत्तरीको मुचुल्का उठाइसकेपछि सिन्धुलीस्थित उनीहरूले खाना खाएको भनिएको होटल, काभ्रेमा खाजा खाएको होटलको पनि मुचुल्का उठाइनेछ।
यता सांसद यादवलाई राखिएको काठमाडौंको नक्सालस्थित मेरियट होटलमा समेत प्रहरीले मुचुल्का उठाइसकेको छ। ‘अनुसन्धानको प्रारम्भिक चरण सुरु भएको छ। हाम्रो टोलीले घटनाको सुरुवात बिन्दु महोत्तरीस्थित सांसदको घरबाट मुचुल्का उठाउने काम सुरु गरिसकेको छ,’स्रोतले नेपाल लाइभसँग भन्यो। आवश्यकता अनुसार अपहरण अभियोग लागेका व्यक्तिहरुमाथि बयान लिने कामसम्म हुने बताइएको छ।
विश्वस्त स्रोतका अनुसार अभियोग लागेका व्यक्तिहरूलाई ‘क्लिन चिट’दिने उदेश्यसहित काठमाडौंको प्रहरी टोली महोत्तरी पुगेको हो। अभियोग लागेका व्यक्तिहरूले प्रधानमन्त्री केपी शर्मा ओली समेतलाई भेट गरेर जतिसक्दो छिटो कानूनी प्रक्रियामार्फत् क्लिन चिट दिँदा राम्रो हुने बताउँदै तत्कालै प्रक्रिया अघि बढाउन लगाइदिन आग्रह गरेका थियो। सोहीअनुसार प्रधानमन्त्री र गृह मन्त्रालयको निर्देशनमा प्रहरी टोली घटनास्थल गएको हो।
अर्को तर्फ काठमाडौं प्रहरीले जाहेरी नलिएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमार्फत् जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता भएपछि प्रहरीले अनुसन्धान गर्नैपर्ने बाध्यता हुन्छ। जसकारण पनि उक्त मुद्दा टुंग्याउन भन्दै आरोपितहरू शक्तिकेन्द्र धाउँदै छिटो क्लिन चिट पाउन लागिपरेको स्रोतले नेपाल लाइभसँग बताएको छ।
जाहेरी दर्ता भइसकेपछि मुद्दा तामेली राख्ने वा अदालतमा पेस गर्ने भन्ने दुई वटा मात्रै विकल्प रहन्छ। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११ मा भ्रमपूर्ण, झुठ्ठा वा काल्पनिक सूचना तथा जाहेरीलाई तामेलीमा राख्न सकिने प्रावधान छ। सोहीअनुसार प्रहरीलाई दबाब भएकाले तामेलीमा राख्ने तयारीका साथ प्रक्रिया अघि बढाइएको स्रोतको भनाइ छ।
समाजवादी पार्टी फुटाउने उद्देश्यले वैशाख १० गते सांसद यादवलाई बस्नेत, श्रेष्ठ र खनालले काठमाडौं ल्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।