काठमाडौं– अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक लगाइएको छ। सो क्षेत्रमा वर्षा र हिमपात भैरहेकाले पदयात्रामा रोक लगाइएको हो।
त्यस्तै सो स्थानमा केही पदयात्रीहरु तल झर्न र माथि उक्लिन सकिरहेका छैनन्।
उनीहरुलाई सहजीकरण गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मी इन्द्र शेरचन थकाली सहितको टोली खटिएको छ। सो टोली अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी परिचालित भएको हो।
उद्धार टोलीका एक सदस्य शेरचनले विभिन्न स्थानमा मानिसहरु फसिरकेको सूचना पाएकाले तिनीहरुलाई उद्धारका लागि आफूहरु परिचालित भएको बताए।
अन्नपूर्ण गाउँपालिकाले आवश्यक सहयोग वा सूचना चाहिएमा प्रहरी कन्ट्रोलको १०० नम्बर वा नजिकको प्रहरी वा अन्नपूर्ण गाउँपालिकाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न भनेको छ।
त्यसैगरी म्याग्दी जिल्लाभर आजदेखि पानी परिरहेको र अन्नपूर्ण बेसक्याम्प (एबिसी) मा हल्का हिमपात सुरु भइसकेको जानकारी जिल्ला प्रशासन कार्यालयले दिएको छ।
जिल्लाका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावित क्षेत्र भएकाले प्रशासनले स्थानीय बासिन्दा, पर्यटक, पर्यटन व्यवसायी र पदयात्रीहरूलाई आफू रहेको र यात्रा गर्ने क्षेत्रको मौसमी अवस्था र बसोबासको व्यवस्था ख्याल गरेर सुरक्षित रहन अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयले आज बेलुकादेखि कात्तिक १४ गते बेलुकासम्म अन्नपूर्ण बेसक्याम्प (एबीसी) जान पूर्ण रूपमा रोक लगाइएको जानकारी दिएको छ।
म्याग्दी जिल्लाका जोखिमयुक्त पर्यटकीय स्थलहरूमा अन्नपूर्ण बेसक्याम्प, घोडेपानी, पुनहिल, खोप्रा, धौलागिरि पदमार्ग र मोहरेडाँडा छन्। हिमपातजन्य मौसमी जोखिमबाट नागरिकको सुरक्षाका लागि आवश्यक भूमिका निर्वाह गर्न सरोकारवाला तथा स्थानीय तहहरूलाई समेत जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।