काठमाडौं– तत्कालीन समाजवादीका सांसद डा. सुरेन्द्र यादवको अपहरणबारे अनुसन्धान गर्न काठमाडौंबाट प्रहरीको टोली महोत्तरी गएको छ।
स्रोतका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रहरी निरीक्षकको नेतृत्वको एक टोली अहिले भर्खरै महोत्तरी गएको हो।
‘अपहरणस्थल महोत्तरी भएकाले त्यहीँ गएर अनुसन्धान गर्नुपर्ने देखिएकाले टोली गएको छ’ स्रोतले नेपाल लाइभसँग भन्यो।
अपहरण तथा शरीर बन्धक कसुरमा सांसदहरू महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ, पूर्व आइजिपी सर्वेन्द्र खनाल र नवीन बस्नेतविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा उजुरी दर्ता भएको थियो।
तत्कालीन समाजवादीका सांसद डा सुरेन्द्र यादवले आफूलाई अपहरण गरिएको र उक्त उजुरी महानगरीय प्रहरी परिसरले दर्ता नगरेको भन्दै निवेदन दिएका थिए। काठमाडौं प्रहरीले दर्ता गर्न नमानेको भन्दै र डा यादवले दिएको उजुरी सरकारी वकिल कार्यालय काठमाडौंले दर्ता गरेको थियो।
उक्त उजुरी दर्तासँगै सरकारी वकिल कार्यालयले अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गरेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको थियो। उक्त निर्देशनपछि प्रहरी टोली महोत्तरी खटिएको हो।
समाजवादी पार्टी फुटाउने उद्देश्यले वैशाख १० गते सांसद यादवलाई बस्नेत, श्रेष्ठ र खनालले काठमाडौं ल्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।