काठमाडौं- अपहरण तथा शरीर बन्धक कसुरमा सांसदहरू महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ, पूर्व आइजिपी सर्वेन्द्र खनाल र नवीन बस्नेतविरुद्ध जिलला सरकारी वकिल कार्यालय काठमाडौंमा उजुरी दर्ता भएको छ।
तत्कालीन समाजवादीका सांसद डा सुरेन्द्र यादवले आफूलाई अपहरण गरिएको र उक्त उजुरी महानगरीय प्रहरी परिसरले दर्ता नगरेको भन्दै निवेदन दिएका थिए। काठमाडौं प्रहरी दर्ता गर्न नमानेको भन्दै र डा यादवले दिएको उजुरी सरकारी वकिल कार्यालय काठमाडौंले दर्ता गरेको हो ।
उक्त उजुरी दर्तासँगै अब सरकारी वकिल कार्यालयले अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गरेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनेछ।
डा यादवले दिएकाे उजुरी दिएकै समयमा भने दर्ता भएको थिएन। अध्ययनपछि उजुरी दर्ता गराउने भन्दै उनले छोडेर आएको सोही उजुरी कार्यालयले सोमबार दर्ता गराएको हो। सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले अपहरण गरेको भन्दै डा यादवले यसअघि मानव अधिकार आयोगमा उजुरी दिइसकेका छन्।
समाजवादी पार्टी फुटाउने उद्देश्यले वैशाख १० गते सांसद यादवलाई बस्नेत, श्रेष्ठ र खनालले काठमाडौं ल्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।