एजेन्सी-२८ वर्षका प्रेमचन्द झोला भिरेर रामपुर हाइवेवाट बरेलीतर्फ हिँडिरहेका छन्। यसरी हिँड्ने उनी एक्ला होइनन्। उनीजस्तै सयौं मानिस सडकमा भेट्न सकिन्छ। उनीभन्दा केही पर तीन जना पिठ्युँमा झोला बोकेर बसेका छन्।
अनुहारमा मास्क लगाएका प्रेमचन्द दिल्लीमा अस्थायी नोकरी गर्थे। लकडाउनकै कारण उक्त कारखाना बन्द भयो । उनले जागिर गुमाए। उनीसँग जति पैसा बाँकी थियो, त्यतिले केही दिन चलाए। अहिले त्यो पनि सकिएको छ । त्यसपछि उनी गाउँ फर्कने सोचका साथ हिँडे। तर यो यात्रा सहज छैन। उनको यो निर्णय सगरमाथा चढ्नु जत्तिकै हो।
‘ट्रेन, बस सबै बन्द छ, हिँडेरै आनन्दबिहारसम्म त आएँ, यहाँबाट केही साधन पाइएला भन्ने आस थियो, तर पाइएन,’ प्रेमचन्दले भने, ‘केही मानिस हिँड्दै आएकाले उनीहरुकै साथ लिएर केही अघि बढेका छौं, झोलामा बिस्कुट छ यही खाँदै बाँचेका छौ ।’ उनी तीन दिन हिडेर यहाँ आइपुगेका हुन्।

अब पनि बाँकी यात्रा हिँडेरै अघि बढ्नुपर्ने उनको बाध्यता छ। ‘बाँचियो भने घर गइन्छ,’ प्रेमचन्दले भने, ‘नत्र जे हुनु छ होला ।’ यति भनिसक्दा प्रेमचन्दको आँखा आँसुले टिलपिल भइसकेका थिए। उनी घर परिबार सम्झेर आँसु बगाउन थाले।
‘हाम्रो भाग्य राम्रो थियो, अहिलेसम्म दुई सय किलोमिटर पार गर्दा पनि प्रहरीको डन्डा खान परेको छैन, मद्दतको कुरा नगरौं,’ प्रहरी र प्रशासनका मानिससँग किन सहयोग मागिएन भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘साथै आएका कयौ साथीहरुले कतिपटक कुटाई खाइसके।’

प्रेमचन्दको घर फैजावाद अर्थात् अयोध्या हो। उनलाई यति थाहा छ अब बरेली, त्यसपछि लखनऊ अनि फैजाबाद आउने छ। उनी घर पुग्न अझै ३५० किलोमिटर दुरी नाप्नै बाँकी छ । यही बाटोबाट अन्य व्यक्ति पनि आफ्नो गतव्यमा जाँदैछन्, केही बरेलीमै रोकिनेछन्, केही अझै पर।
यी मानिस लामो हिँडाइले थाकेका छन्। अनुहार मलिन छ। तर अनुहारमा घर पुग्ने खुसी भने प्रष्ट देख्न सकिन्छ । उनीहरु जति हिँड्दैछन्, उति नै आफ्नो घर नजिकै आएको खुसीमा रमाइरहेका छन्।
यसरी यात्रारत मध्येका अर्का हुन दिनानाथ। उनी आफ्नी श्रीमती, दुई साना बच्चाहरुलाई साथै लिएर हिडेका छन्। उनी दिल्लीको मन्डावलीदेखि पैदल यात्रामा यहाँसम्म आइपुगेका हुन्। उनी पीलीभीत गाउँ पुग्ने लक्ष्य लिएर हिडेका छन्। साथमा केही खाना दिल्लिबाटै लिएर हिडेका थिए, केही बाटोमा किनेका छन् । उनले भाग्यवस केही ठाउँमा केही साधन भेटे, त्यसैले पुरै यात्रा हिँड्नु परेन। तर पनि उनले सय किलोमिटर यात्रा पैदल नै पार गरेका छन्।

उनको यो सिलसिला भारतमा कफ्र्यु लगाएदेखि नै हो। सबै कारखाना र गोदामहरु पहिले नै बन्द भएका थिए। त्यहाँ कार्यरत सयौं मजदूर पैदल यात्रमा छन् । उनीहरु बरेली,रामपुर,मुरादाबाद र लखनऊ पुग्ने आसा बोकेर हिडेका छन् । दिल्लीबाट पैदल लखिमपुर गइरहेका दिलावरले रुन्चे स्वरमा आफूसँग भएको सबै पैसा सकिएकाले अब भोकै र पैदलै यात्रा गर्नुबाहेक विकल्प नभएको बताए।
यसरी पैदल यात्रामा रहेको मानिसको समस्यालाई लिएर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सडकमा हिँडेका वा अलपत्र परेका कसैलाई पनि भोको नराख्न निर्देशन दिएका छन् । यदि कसैलाई आवश्यक सहयोग चाहिएमा फोन गर्न हटलाइन नम्बर दिइएको छ, तर विडम्वना यसरी पैदल यात्रा हिँडेका कसैसँग मोवाइल छै्रन। भएका फोनहरु चार्ज सकिएर अफ भएका छन्।
केहीको आरोप छ कि यो नम्बरमा पहिले त फोन नै लाग्दैन, लागेर गुनासो गरे पनि सुनुवाइ हुँदैन। सामाजिक सञ्जालमा यस्ता भिडियोहरु भाइरल भइरहेका छन्, जसमा प्रहरीले डन्डा बर्साइरहेको छ । यसरी बन्दका कारण घर फर्किरहेका मानिसमाथि प्रहरीले गरेको दमनको चौतर्फी आलोचना भइरहेको छ । जनता सोच्छन् सबै समस्याको समाधान प्रहरीसँग हुन्छ। प्रहरी परिचालन गरेपछि सबै नियन्त्रणमा आउँछ भन्ने सरकारी सोचका कारण पनि यस्ता समस्या आउने गरेको एक प्रहरी अधिकारीको अनुभव छ।
प्रहरीसँग पनि अनेकथरिका समस्या आउने गर्छ। एक प्रहरीले केही दिन अघि आएको फोनको रमाइलो किस्सा सुनाए। एक व्यक्तिले फोन गरेर सहयोग मागे। आफू केही दिनदेखि भोकै भएको बताए। र, खाना नपाए आत्महत्या गर्ने धम्की दिए। यस्तो अवस्थामा के गर्ने, के नगर्ने अन्योल हुने प्रहरी अधिकारीको भनाइ छ।
सुरुमा सरकारले कोही व्यक्ति बाहिर न निस्कने भन्यो। बीचमा आंशिक छुट दिइयो। अनि मानिस यात्रामा हिँडे। यहीकारण मानिसहरु अहिले अलपत्र परेको प्रहरी अधिकारीको बुझाइ छ । प्रहरीलाई अहिले वाध्यताले घर जान लागेका र मस्तीका लागि बाहिर निस्केका बीचमा फरक छुट्टाएर नियन्त्रण गर्न समस्या भइरहेको प्रहरी अधिकारीको भनाइ छ।
बीबीसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।