काठमाडौं– बाढी पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री कार्यालयको उद्धार कोषमा १ लाख सहयोग गर्न खोज्दा १० लाख रुपैयाँ ट्रान्सफर भएपछि एक संस्थाले बाँकी रकम फिर्ता गर्न अनुरोध गरेको छ ।
कोटेश्वरको सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बिहीबार १ लाख रुपैयाँ पठाउँन खोज्दा भुलवश १० लाख रुपैयाँ ट्रान्सफर भएको हो । सुयोग्य सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले भुलवश जम्मा भएको रकम फिर्ता गरिदिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सम्बोधन गर्दै निवेदन लेखेका छन् ।
सहकारीले कोषमा १ लाख १ हजार १ रुपैयाँ योगदान गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार ग्लोबल आइएमई बैंक लिमिटेडको खातामा कनेक्ट आईपीएसमार्फत रकम ट्रान्सफर गर्ने क्रममा भुलवश १० लाख १ हजार १ रुपैयाँ ट्रान्सफर भएको थियो ।
रकम ट्रान्सफर भएको विवरणसमेत निवेदनसँगै संलग्न गरिएको सहकारीले जनाएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।