काठमाडौं– नेपाल र चीनको सीमावर्ती क्षेत्र रसुवागढी–केरुङ नाकामा मंगलबार बिहान गएको ठूलो प्राकृतिक विपत्तिका कारण दुवै देशतर्फ ठूलो जनधनको क्षति भएको छ ।
यसैबीच सामाजिक सञ्जाल र केही अनौपचारिक माध्यमहरूमा चीनतर्फको बाँध फुटेको र चीनले पूर्वसूचना नदिएका कारण नेपालमा क्षति भएको भन्ने दाबीहरू सार्वजनिक भए तापनि ती खबरहरू पूर्णतः भ्रामक रहेको चिनियाँ राजदूतावासले जनाएको छ ।
दूतावासले सामाजिक सञ्जालमार्फत आधिकारिक धारणा सार्वजनिक गर्दै चीनका कारण क्षति भएको भन्ने अफवाहको खण्डन गरेको हो।
चीनले समयमै पूर्वसूचना नदिएका कारण नेपालतर्फ ठूलो जनधनको क्षति भएको तथा चीनतर्फको पूर्वाधार वा बाँध फुटेका कारण बाढी आएको भन्दै फैलाइएका खबरहरू पूर्ण रूपमा असत्य (फेक न्युज) भएको दूतावासले जनाएको छ।
दूतावासका अनुसार गत अगस्ट २६ (भदौ १०) गते बिहान नेपालतर्फ गएको भूकम्प वा भूकम्पजस्तै हिमपहिरोका कारण ठूलो लेदो र पहिरो खसेको थियो। सोही विनाशकारी पहिरोका कारण ग्याइरोङ–रसुवागढी सीमा क्षेत्रका दुवैतर्फ (नेपाल र चीन) ठूलो सङ्ख्यामा जनधनको क्षति हुनुका साथै नागरिकहरू सम्पर्कविहीन भएको दूतावासले जनाएको छ।
विपद्को यस्तो कठिन घडीमा आरोप-प्रत्यारोपले कसैलाई फाइदा नपुर्याउने भन्दै दूतावासले भनेको छ, “आरोपले केही हल गर्दैन, सहकार्यले मात्र जीवन बचाउँछ”। दूतावासले दुवै देशका सीमावर्ती क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यका लागि आपसी समन्वय र सहयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।