काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले फैसला/आदेश संशोधनको माग गर्दै दायर गरेको निवेदन अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार देउवाको मागबमोजिम आदेश संशोधन गर्न कानुनी रूपमा नमिल्ने ठहर गरेको हो ।
देउवाले सर्वोच्चको गत वैशाख १४ गतेको आदेशमा आफूले विपक्षी नबनाएको गगनकुमार थापाको नाम उल्लेख भएको भन्दै त्यसलाई सच्याउन माग गरेका थिए । आदेशमा ‘गगन कुमार थापाको अध्यक्षतामा प्रचारित नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति’ भन्ने व्यहोरा उल्लेख छ ।
तर, सर्वोच्चले मुद्दाको मिसिल अध्ययन गर्दा रिट निवेदनमा निवेदकको नाम, थर, वतन र पद तथा प्रत्यर्थीको हकमा उनीहरूले लिखित जवाफमा उल्लेख गरेको विवरण नै आदेशमा समावेश भएको देखिएको जनाएको छ ।
अदालतले निवेदन वा फिरादपत्रमा उल्लेख भएको विवरण हुबहु आदेश वा फैसलामा राख्नुपर्ने नभएको स्पष्ट पारेको छ । दुवै पक्षका दाबी, लिखित जवाफ र उपलब्ध प्रमाणको समग्र मूल्यांकन गरेर अदालतले न्याय निरूपण गर्ने भएकाले देउवाले माग गरेअनुसार आदेश संशोधन गर्न नमिल्ने सर्वोच्चको ठहर छ ।
इजलासले ‘यस स्थितिमा निवेदकको मागबमोजिम संशोधन गर्न मिल्ने देखिएन’ भन्दै कानुनबमोजिम गर्न आदेश दिएको छ ।
कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुँदैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।