गाईघाट– उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएका छन्।
प्रहरीका अनुसार आगलागीबाट एक वृद्धा बेपत्ता भएकी छिन् भने ६ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार रातको ११ बजे पूर्वप्रहरी हवल्दार नारायण तामाङको घरबाट आगलागी शुरु भएपछि रातको ३ बजेसम्ममा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ।
आगलागीबाट तामाङकी ७० वर्षीय आमा बारीमाया तामाङ बेपत्ता भएको प्रहरीले बताएको छ। आगलागी शुरु भएपछि ढिलो खबर प्राप्त भएका कारण समयमै घटनास्थल पुग्न नसकेको प्रहरीले जनाएको छ। प्रहरीले कटारी नगरपालिका र त्रियुगा नगरपालिकाबाट दमकल मगाएर प्रहरी तथा स्थानीयवासीको प्रयासपछि आज बिहानको ३ बजे मात्र आगलागी नियन्त्रणमा लिन सकिएको जनाएको छ।
तामाङको घरमा रातिको समयमा धामी बसाएको र आगो सल्केको हुनसक्ने प्रहरीले बताएको छ। आगलागीबाट स्थानीय टेकप्रसाद श्रेष्ठ, भरत कार्की, वीरबहादुर तामाङ, तिलकुमारी दाहाल, निर्मला विक, लवराज कार्की, तिलकमान तामाङ, रमेश खतिवडासहितको घरमा भएका लत्ताकपडा, अन्नपातसहित सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।