एजेन्सी - मध्य अमेरिकी राष्ट्र पानामामा शुक्रवार दिउँसो ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
स्थानीय समयअनुसार दिउँसो १२:५६ बजे ४ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पका कारण सयौँ सर्वसाधारण त्रसित भई सडकमा निस्किएका छन् भने देशका विभिन्न स्थानमा सार्वजनिक सेवा प्रभावित बनेका छन् ।
पानामास्थित भूगर्भ विज्ञान संस्थानका अनुसार भूकम्पको केन्द्रबिन्दु आसपास शुक्रवार बेलुका ५:३० बजेसम्म ४० भन्दा बढी परकम्पहरू रेकर्ड गरिएको छ, जसमध्ये १२ वटा ५.० म्याग्निच्युडभन्दा बढीका छन् । दिउँसो ३:२५ बजे गएको ६.९ म्याग्निच्युडको परकम्पले स्थानीयलाई थप त्रसित बनाएको थियो । शुरुवाती समयमा अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको तीव्रता ८.० म्याग्निच्युड मापन गरे पनि पछि त्यसलाई परिमार्जन गर्दै ७.७ कायम गरेको थियो।
भूकम्पका कारण राष्ट्रिय खानेपानी तथा ढल निकास प्राधिकरणका विभिन्न प्रशोधन केन्द्रहरूमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा पानीको आपूर्तिमा समस्या देखिएको छ । राजधानीस्थित टोक्युमेन अन्तर्राष्ट्रिय विमानस्थलमा सावधानीस्वरुप केही समय उडान स्थगित गरी टर्मिनल भवन खाली गराइएको थियो । यद्यपि, प्राविधिक निरीक्षणपछि कुनै क्षति नदेखिएको भन्दै विमानस्थल पुनः सञ्चालनमा आएको छ ।
पानामा नहर प्राधिकरणले नहरको सञ्चालन सामान्य अवस्थामा रहेको जनाएको छ । सावधानीस्वरुप आपतकालीन प्रक्रिया अपनाउँदै पूर्वाधारहरूको निरीक्षण कार्य सुरु गरिएको छ । पानामाको नागरिक सुरक्षा निकायले हाल भूकम्पको केन्द्रबिन्दु नजिकका क्षेत्रहरूमा क्षतिको विवरण संकलन र उद्धार कार्य गरिरहेको छ ।
भौगोलिक रूपमा पानामा ‘रिङ अफ फायर’ मा पर्ने भएकाले यहाँ भूकम्प र ज्वालामुखी गतिविधि सामान्य मानिन्छन् । ४० हजार किलोमिटर लामो यस क्षेत्रमा हुने निरन्तरको सिस्मिक गतिविधिका कारण सरकारी निकायले सधैँ उच्च सतर्कता अपनाउँदै आएका छन् । हालसम्म मानवीय हताहतीको आधिकारिक विवरण भने सार्वजनिक भएको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।