काठमाडौं। रातभर परेको अविरल वर्षाका कारण बिपी राजमार्गको निर्माणाधीन सडक खण्डमा झरेको लेदो पन्छाएर यातायात पुनः सञ्चालनमा ल्याइएको छ।
शनिबार विहान बिपी राजमार्गअन्तर्गत नार्के र पिन्थलीबीचको खण्ड (मंगलटारबाट करिब ३ किलोमिटर भकुन्डेतर्फ) वर्षासँगै लेदो माटो र गेग्रान खस्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सडक अवरुद्ध भएलगत्तै सुरक्षाकर्मी तथा प्राविधिक टोलीले डोजरको सहायताले लेदो हटाउने कार्य तीव्र पारेका थिए। सडकमा जम्मा भएको लेदो पन्छाएपछि रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ प्रस्थान गर्न थालेको स्थानीय प्रशासनले जनाएको छ। सडक खुले पनि निर्माणाधीन खण्ड भएकाले सावधानीपूर्वक यात्रा गर्न चालकहरूलाई आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।