काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरानिकट भएर शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका झापाका इनाम सापकोटालाई थुनामुक्त गर्न माग गरिएको बन्दीप्रत्यक्षीकरणको निवेदन सर्वोच्चले खारेज गरेको छ ।
न्यायाधीशहरु हरिप्रसाद फूयाल र सुनिलकुमार पोखरेलको इजलासले सापकोटालाई गैरकानुनी थुनामा राखेकाले तत्काल थुनामुक्त गर्नुपर्ने माग गरेको निवेदनलाई खारेज हुने फैसला सुनाएको हो ।
सापकोटाका तर्फवाट श्रीमती कविता पाण्डेले असोज १६ गते बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन् । उक्त निवेदनमा दोस्रो सुनुवाइ गर्दै सर्वोच्चले रिट खारेज भएपछि उनी थुनामै रहने भएका छन्।
उनी विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा म्याद थप भएको थियो। जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई बुधबार जिल्ला अदालत काठमाडौंबाट सम्पत्ति शुद्धीकरणको कसुरमा म्याद थप गरेको हो । यसअघि उनीमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान हुँदै आएको थियो ।
बिचौलियाको काम गरेर अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरेको हो । सम्पत्ती शुद्धीकरण मुद्दामा अदालतले म्याद दिएमा दुई महिनासम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने प्रावधान छ ।
सापकोटाले अदालतका मुद्दाका विषयमा डिल गरेका आरोपमा अनुसन्धान जारी छ । उनको सम्पत्तिसमेत रोक्का गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
उनकै मोबाइलमा भेटिएका प्रमाणका आधारमा सरकारले सशस्त्र प्रहरी बलका एआइजी वंशीराज दाहाललाई निलम्बन गरी छानबिन गरिरहेको छ । दाहालले चोेलेन्द्रका लागि सापकोटामार्फत सूचना पठाउने गरेको प्रहरीको आरोप छ । यही आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुधबार चोलेन्द्रनिकट पाँच व्यक्तिको घरमा खानतलासी लिएको थियो । उनका भाइ प्रभुशमशेर जबरा, पूर्वन्यायाधीश नवराज थपलिया तथा बिचौलियाको काम गरेको आरोपमा नारायण दाहाल, दीपक तिमल्सिनाको घरमा खानतलासी गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।