- रमेश लम्साल/रासस
नयाँदिल्ली– भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका गृहमन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ।
भारतीय राष्ट्रपतिको कार्यालयमा शनिबार साँझ भएको भेटवार्तामा नेपाल र भारतबीचको खुला सीमालाई व्यवस्थित बनाएर आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने विषयमा कुराकानी भएको थियो।
भेटवार्ताका बारेमा जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने,‘खुला सीमा मित्रताको अनुपम नमूना भएकाले यसलाई थप व्यवस्थित बनाउने विषयमा प्रधानमन्त्री ओली र भारतीय गृहमन्त्री सिंहबीच कुराकानी भयो।’
प्रधानमन्त्रीमा ओली निर्वाचित भएपछि नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको भन्दै भारतीय गृहमन्त्री सिंहले आफूले नै भारतमा स्वागत गर्न पाउँदा थप उत्साहित र खुशी तुल्याएको उल्लेख गरे। नेपाल र भारत छिमेकीमात्रै नभई भ्रातृत्व, मैत्री एवं सदाचारको धनीसमेत रहेकाले एक अर्काको चासो र चिन्तालाई सम्बोधन गरेर अगाडि जान मार्ग प्रशस्त भएको भारतीय गृहमन्त्रीको भनाइ थियो।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालको प्रमुख कार्यसूची विकास र आर्थिक समृद्धिमात्रै भएकाले त्यसका लागि एक–अर्का देशबीच थप सहकार्यका स्रोतहरुको खोजी तथा पहिचान गरेर अगाडि जानुपर्नेमा जोड दिए।
खुला सिमानाका कारण भारतले मात्रै नभई नेपालले पनि केही समस्या भोगेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसलाई थप व्यवस्थित र दुवै देशका सुरक्षाकर्मीबीच थप समन्वय गरेर अगाडि जानुपर्नेमा जोड दिएका थिए।
भेटवार्तामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायत नेपाली प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।