काठमाडौं -भरियाका रुपमा प्रयोग गरिएका सनम शाक्यको हत्यामा संलग्न सुन तस्करलाई सघाएको आरोपमा महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लाहेनीसहित तीन प्रहरीलाई हटाइएको छ। गृह मन्त्रालयका सहसचिव ईश्वरप्रसाद पौडेल संयोजकत्वको छानबिन समितिको सिफारीसमा एसएसपी लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई हटाइएको हो।
प्रमाण लुकाउन सक्ने भएकाले उनीहरुलाई त्यहाँबाट हटाइएको हो।
गत महिना तस्करीको ३३ किलो सुन लुकाएको आरोपमा शाक्यको हत्या भएको थियो। हत्यामा संलग्न सुन तस्कर गोरे भनिने चुनामणि उप्रेती फरार छन्। प्रहरीले उप्रेतीलाई जोगाएको र पीडितहरुलाई थुनेको उजुरीका आधारमा गृह मन्त्रालयले छानबिन थालेको थियो।
लामो समयदेखि महाशाखामा कार्यरत सई सञ्जलको उप्रेतीसँग हिमचिम थियो। सोही कारण सो समूहले विराटनगर गएर शाक्यको शव बरामद गरेको थियो। हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। तर, हत्या गर्न लगाउनेहरुको खोजीमा चासो दिएको थिएन। जसकारण घटना रहस्यमय बनेको थियो।
लुकाइएको भनिएको ३३ किलो सुन पनि भेटिएको छैन भने तस्करहरुलाई समेत पक्राउ गरिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।