काठमाडौं- कोरियाले भिसा अवधि सकिएका नेपाली श्रमिकहरुको ३० दिन भिसा अवधि थप गर्न सक्ने कोरियास्थित नेपाली दूतावासका श्रम काउन्स्लर डिल्ली राम बास्तोलाले बताएका छन्।
नेपाल सरकारको उच्च समितिको निर्णयबाट तत्कालका लागि नेपालीहरुलाई आवागमनमा प्रतिबन्ध लगाएसँगै कोरियाली सरकारले भिसा अवधि थप गर्न सक्ने काउन्स्लर बास्तोलाले बताएका हुन्।
श्रम काउन्स्लर बास्तोलाले भने, ‘अध्यागमन कार्यालय गई नेपाल बन्देज भएको भन्ने कोरिया परराष्ट्र मन्त्रालयको पत्र देखाएमा भिसा थप हुन सक्छ।’ थप जानकारीका लागि अध्यागमनमा सम्पर्क गर्न बास्तोलाले सुझाएका छन्।
नेपाल सरकारको निर्णयले यूरोपका सबै मुलुक, पश्चिम एसियालगायत मलेसिया र खाडी क्षेत्रमा रहेका नेपालीहरु, इरान, टर्की, दक्षिण कोरिया, जापानबाट सोझै वा ट्रान्जिट हुँदै आउन प्रतिबन्ध लगाएको छ।
मार्च २० देखि अप्रिल १५ सम्मका लागि सरकारले प्रतिबन्ध लगाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।