आइतबार नेपाल लाइभमा प्रकाशित मुख्य समाचार शीर्षकहरू
१. आचारसंहिता विपरीत प्रधानमन्त्रीको जन्मोत्सव
काठमाडौं- प्रधानमन्त्री ओलीले तेह्रथुमको आठराई पुगरे भव्य रूपमा जन्मदिन मनाएका छन्। प्रधानमन्त्री ओली आइतबार आफ्नो जन्मदिन मनाउन पुर्खौली थलोमा पुगेका थिए।
उनी हेलिकोप्टरमा सरकारका केही मन्त्री र नेकपामा केही नेतासहित पुर्खौली थलो पुगेका थिए।
उनलाई जन्मथलो लैजान उनको पुर्ख्यौली घर नजिकै हेलिप्याड बनाइएको थियो भने पाँचथरको फिदिमबाट हेलिकोप्टरमा राखेर केक लगिएको थियो।
मनाउन गरेका गतिविधि नेकपाको संगठन विभागले बनाएको आचारसंहिता विपरीत हो। वामदेव गौतम संगठन विभाग प्रमुख बनेलगत्तै पार्टीका नेता र कार्यकर्ताले पालना गर्नुपर्ने आचारसंहिता बनाएर सर्कुलर गरेको थियो।
जन्मदिन मनाउन तेह्रथुमको आठराई पुगेको टोलीमा नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, खानेपानीमन्त्री बिना मगर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ लगायत थिए। प्रधानमन्त्रीको जन्मोत्सवको तयारीका लागि प्रधानमन्त्रीको सचिवालयका केही सदस्य यसअघि नै तेह्रथुम पुगिसकेका थिए।
प्रधानमन्त्रीको जन्मदिन मनाउनका लागि राज्यसंयन्त्र नै प्रयोग भयो। उनको जन्मदिनका लागि तेह्रथुमको प्रशासन संयन्त्र पनि लागि परेको छ। ओलीको जन्मोत्सव मनाउनका लागि उनी जन्मिएको घर नजिकै हेलिप्याड निर्माण गरिएको थियो।
तर यो आचारसंहिता विपरीत भएको देखिएको छ। ‘छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ। जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ,’ आचारसंहिताको 'ङ' खण्डमा उल्लेख छ।
थप समाचार
प्रधानमन्त्री ओलीले यसरी मनाए जन्मदिन [६ तस्बिरसहित]
प्रधानमन्त्रीको नाममा ‘केपी ओली ट्रस्ट’, जन्मघरमा संग्रहालय
२. एमसिसीप्रति प्रचण्ड
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवादित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बारे आफ्नो धारणा बदलेका छन्।
प्रेस संगठन नेपाल, कास्कीले २२ माघमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले एमसिसीबारे अध्ययन गर्ने कार्यदलले जे सिफारिस गर्यो त्यही पास नहुने बताएका थिए।
‘छोटो समय लिएर सबैले बुझ्नेगरी यसको प्रतिवेदन तयार पारौं भनेर कार्यदल गठन गरिएको हो,’ प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा आलीसँग मिल्दोजुल्दो भनाइ राख्दै उनले भनेका थिए, ‘कार्यदलको प्रतिवेदन आइसकेपछि जे ल्यायो, त्यही पास हुन्छ भन्नेचाहिँ होइन। अध्ययन कार्यदल भनेको अध्ययन कार्यदलै हो।’
थप समाचार
एमसिसीमा प्रचण्ड टोन : ‘सफ्ट लाइनर’बाट झन् कडा
३. छाया सरकारको पहिलो बैठक
गठन भएको ९ महिनापछि पहिलोपटक बसेको कांग्रेसको छाया सरकारको मन्त्रीमण्डल बैठक आफ्नै कमजोरीमाथि केन्द्रित भएको छ।
पार्टी सभापति शेरबहादुर देउवाले छाया मन्त्रिपरिषदको बैठक पहिलोपटक आइतबार बोलाएका थिए।
संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा अधिकांश छायामन्त्रीहरुले आफ्नो प्रगति विवरण बुझाउन सकेनन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारलाई जवाफदेही बनाउन गठन गरिएको छाया सरकार प्रभावहिन भएको प्रति चिन्ता व्यक्त थियो।
पार्टी सभापति देउवाको अध्यक्षतामा बसेको बैठकमा छायामन्त्रीहरुले प्रगति भन्दा बढी अप्ठ्यारा सुनाएका थिए।
थप समाचार
छाया सरकारको पहिलो बैठक, मुख्य मुद्दामा नै अलमल
४. ७० करोड घुसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ : सिपी गजुरेल
नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले गोकुल बाँस्कोटाको कमिसनको अडियो प्रकरणबारे गम्भीर छानबिन हुनुपर्ने माग गर्दै यसको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लिनुपर्ने बताएका छन्।
उनले प्रधानमन्त्रीको जानकारीबिना यो सम्भव नभएको बताउँदै अडियो दुई महिना पहिले नै प्रधानमन्त्रीकहाँ पुगेको कुरा आएको उल्लेख गर्दै किन त्यो प्रकरण बाहिर ल्याउनुभएन? भन्दै प्रश्न गरेका छन्।
काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्रीले यत्रो दिन किन गुपचुप राख्नुभयो? यसले पनि के देखाउँछ भने यो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ।’
थप समाचार
७० करोड घुसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ : सिपी गजुरेल
५. बाँस्कोटा घुस डिलको अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध उजुरी
संसदको सार्वजनिक लेखा समितिले आफ्ना १२ सदस्यको चरित्र हत्या गरेको भन्दै दुई जनाविरुद्ध प्रहरी प्रधान कार्यालयमा साइबर अपराधअन्तर्गत उजुरी दर्ता गराएको छ।
समितिका सचिव डा. रोजनाथ पाण्डेका अनुसार विजयप्रकाश मिश्र र प्रभातकिशोर उपाध्यायविरुद्ध आइतबार उजुरी दर्ता गराइएको हो।
समिति सदस्यहरूको अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा नामसहित तस्बिर राखेर भ्रम फैलाउँदै चरित्र हत्या गरिएको दाबी उजुरीमा गरिएको छ।
यसरी गलत भ्रम फैलाउनेविरुद्ध साइबर अपराधअन्तर्गत उजुरी दर्ता गरी आवश्यक कारबाही गर्न भनिएको डा। पाण्डेले बताए। ‘उजुरीमाथि कारबाही गरी त्यसबारे यथासक्य चाँडो प्रतिवेदन बनाएर समितिमा पेश गर्न निर्देशन दिइएको छ,’ उनले भने।थप समाचार
बाँस्कोटा घुस डिल प्रकरण : अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध साईबर क्राइममा उजुरी
६. ओरेन्टलका सुधीर बस्नेतविरुद्ध सर्वोच्चका एक मुद्दा खारेज, एक जारी
ओरेन्टल सहकारीका सञ्चालक सुधीर बस्नेतका दुई विचाराधीन मुद्दामा सर्वोच्च अदालतले एक खारेज हुने र अर्को मुद्दा भने जारी हुने फैसला गरेको छ।
बस्नेतको ओरेन्टल को–अपरेटिभ लिमिटेडसँग सम्बन्धित दुईवटा मुद्दामा सर्वोच्चले आइतबार फैसला सुनाएको हो। न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको संयुक्त इजलासले बस्नेतका दुई मुद्दामध्ये एउटा मात्र जारी हुने फैसला सुनाएको हो।
विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको संकटग्रस्त सहकारी अध्ययन समितिको प्रतिवेदन र हाल गठन भएको आयोगको अधिकारका विषयमा दुई थान मुद्दा सर्वोच्चमा दर्ता भएका थिए।
ती दुई मुद्दामध्ये एक मात्र जारी हुने आदेश भएको सर्वोच्चले जनाएको छ। सर्वोच्चको यो फैसलापछि के हुने भन्ने बारेमा भने पूर्णपाठ कुर्नुपर्ने छ।
थप समाचार
ओरेन्टल सहकारीका सुधीर बस्नेतविरुद्ध सर्वोच्चका २ मुद्दामध्ये एक खारेज, एक जारी
७.तीन महिनामै लगानीकर्ताले कमाए ४ खर्ब ७० अर्ब
सेयर बजारका लगानीकर्ताले तीन महिनाको अवधिमै ४ खर्ब ६९ अर्ब रुपैयाँ कमाएका छन्। ठिक तीन महिना अगाडि मंसिर १० गते बजार पूँजीकरण १४ खर्ब ५० अर्ब रुपैयाँ मात्र थियो। सो समयमा नेप्से सूचक ११०९.१७ अंक थियो।
नेप्से सूचक सबैभन्दा बढी हुँदा बजार पुँजीकरण २० खर्ब ७० अर्ब रुपैयाँ थियो। त्यतिबेलाको सूचीकृत कम्पनीको चुक्ता पुँजीभन्दा अहिले तीन गुणा भन्दा बढी चुक्ता पुँजी थपिइसकेको छ।
सेयर संख्या तीन गुणा भन्दा बढीले थपिँदा नेप्से सूचक तीन सय अंक कम हुँदै बजार पुँजीकरण यसअघिको रेकर्ड आसपास पुगेको हो।
तीन महिनाको अवधिमा सेयर बजार ३ सय ९४ अंकले सुधार भएर १५०४.१४ अंक पुगेको छ। सूचकमा सुधार सँगै आइतबार बजार पुँजीकरण १९ खर्ब १९ अर्ब रुपैयाँ पुगेको हो।
थप समाचार
तीन महिनामै लगानीकर्ताले कमाए ४ खर्ब ७० अर्ब, बजार पुँजीकरण १९ खर्ब २० अर्ब
८. नेपाललाई स्वर्ण
आइटिएफ वर्ल्ड जुनियर टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको छ। नेपालले पुरुष टिम इभेन्टमा स्वर्ण जितेको प्रशिक्षक कृष्णराज घलेले जनाएका छन्।
इन्डोनेसियाको जाकार्तामा भएको प्रतियोगिताको फाइनलमा नेपालले श्रीलंकालाई २–१ ले पराजित गर्दै स्वर्ण जितेको हो। त्यसअघि नेपालले पाकिस्तानलाई २–१, सिरियालाई ३–० तथा सिंगापुरलाई २–१ ले हराएको थियो।
यु–१४ उमेर समूहको प्रतियोगितामा नेपालबाट अकी जुवेन रावत, आरभसम्राट हाडा र प्रणव मानन्धरले प्रतिस्पर्धा गरेका थिए।
पहिलो भएको नेपाल अस्ट्रेलियामा मार्चमा हुने वर्ल्ड जुनियर टेनिस प्रतियोगिताका लागि छनोट भएको छ। दोश्रो भएको श्रीलंका पनि छनोट भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।