काठमाडौं–सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवादित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बारे आफ्नो धारणा बदलेका छन्।
प्रेस संगठन नेपाल, कास्कीले २२ माघमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले एमसिसीबारे अध्ययन गर्ने कार्यदलले जे सिफारिस गर्यो त्यही पास नहुने बताएका थिए ।
‘छोटो समय लिएर सबैले बुझ्नेगरी यसको प्रतिवेदन तयार पारौं भनेर कार्यदल गठन गरिएको हो,’ प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा आलीसँग मिल्दोजुल्दो भनाइ राख्दै उनले भनेका थिए, ‘कार्यदलको प्रतिवेदन आइसकेपछि जे ल्यायाे, त्यही पास हुन्छ भन्नेचाहिँ होइन। अध्ययन कार्यदल भनेको अध्ययन कार्यदलै हो।’
नेकपा वरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वको कार्यदलले शुक्रबार संसोधनसहित अनुमोदन गर्न सुझाव दिएपछि भने प्रचण्ड एकाएक एमसिसीप्रति कडा देखिएका छन्।
कार्यदलले प्रतिवेदन बुझाएको भोलिपल्टै प्रचण्डले शनिबार नवलपुरमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा एमसिसीमा दुई पटक संसोधन भइसकेको तथ्य खुलाए।
अहिले आएर एमसिसी परिमार्जन हुन नसक्ने अमेरिकी भनाइलाई ‘काउन्टर’ गर्दै प्रचण्डले यसअघि दुई पटक संसोधन भइसकेकाे बताएका थिए।
‘एमसिसी सहमति पत्रमा हस्ताक्षर गरिसकेपछि दुई पटक संशोधन भइसकेको छ,’ प्रचण्डको भनाइ थियो, ‘आयोजना अगाडि बढाउँदा कर्मचारी र कार्यालय स्थापनालगायत खर्च एमसिसी योजनाकै बजेटबाट खर्च गर्ने प्रावधान छ। अनुमोदन नहुँदै कर्मचारी राख्ने र कार्यालय स्थापना गर्दा पैसा कसको राख्ने भन्नेमा सुरुमा नेपाल सरकारले नै खर्च गर्ने र पछि अनुमोदन भएपछि एमसिसीबाट गर्ने भन्ने संशोधन भएको छ। त्यसैले यो संशोधन वा परिमार्जन हुँनै नसक्ने सम्झौता पत्र होइन।’
प्रचण्ड शनिबार दिउँसो काठमाडौं फर्किएपछि बालुटारमा बसेको नेकपा सचिवालय बैठकले कार्यदलको सुझावलाई अनुमोदन गर्दै संसोधनसहित एमसिसी संसदबाट अनुमोदन गर्ने सहमतिमा पुगेको थियो ।
‘मिथिलाविहारी भगवानको डोला उठाउने’ कार्यक्रमका लागि आइतबार जनकपुर पुगेका प्रचण्डले एमसिसीबारे राखेको धारणा पनि कडै छ ।
‘एमसिसी बारेको कुरा तपाईहरुलाई थाहा छँदैछ,’ जनकपुरका स्थानीय सञ्चारकर्मीसँगको छलफल प्रचण्डले भनेका छन्, ‘हाम्रो पार्टीको बैठकमा यस विषयमा गम्भीर ढंगले छलफल पनि भयो। त्यसैअनुसार हामीले तीन सदस्यीय अध्ययन कार्यदल पनि बनायौं झलनाथजीको नेतृत्वमा। त्यस कार्यदलले अस्ति हामी दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइपनि सक्यो। र हिजोमात्र हामीले सचिवालयमा छलफल पनि गर्याैं। र अब संसोधन र परिमार्जनविना संसदमा अनुमोदन हुने स्थिति पनि छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।