काठमाडौं- गठन भएको ९ महिनापछि पहिलोपटक बसेको कांग्रेसको छाया सरकारको मन्त्रीमण्डल बैठक आफ्नै कमजोरीमाथि केन्द्रित भएको छ।
पार्टी सभापति शेरबहादुर देउवाले छाया मन्त्रिपरिषदको बैठक पहिलोपटक आइतबार बोलाएका थिए।
संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा अधिकांश छायामन्त्रीहरुले आफ्नो प्रगति विवरण बुझाउन सकेनन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारलाई जवाफदेही बनाउन गठन गरिएको छाया सरकार प्रभावहिन भएको प्रति चिन्ता व्यक्त थियो।
पार्टी सभापति देउवाको अध्यक्षतामा बसेको बैठकमा छायामन्त्रीहरुले प्रगति भन्दा बढी अप्ठ्यारा सुनाएका थिए।
मन्त्रालयहरुमा अनियमतिता बढाएको सुनाएका छायामन्त्रीहरुले त्यसका विरुद्धमा आफुले चालेको कदम भने सुनाउन सकेनन्।
सरकारका गलत निर्णयका विषयमा संसदमा आवाज उठाउने, जनतालाई जानकारी गराउने र नियमित बैठक गर्ने निर्णय भएको सांसद डिला संग्रौलाले जानकारी गराइन्।
बैठक नियमित बस्न नसकेको प्रति पनि छायामन्त्रीहरुले गुनासो गरेको थिए।
प्रमुख सचेतक बालकृष्ण खांणले २१ सदस्यीय मन्त्रीमण्डलमा केहिले मात्रै मन्त्रालयगत प्रगति विवरण संसदीय दलको कार्यालयमा बुझाएको बताए।
बैठकमा उठेका विषयमा जानकारी गराउँदै संग्रौलाले भनिन्,‘छायामन्त्री परिषदलाई नै छाया बनाइएको गुनासो आयो।
आइतबारको बैठकमा छाया सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गगन थापा, गृहमन्त्री दिलेन्द्र बडु र अर्थमन्त्री डा मिनेन्द्र रिजाल उपस्थित भएनन्।
जेठको ६ गते कांग्रेसले छाया मन्त्रिपरिषद गठन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।