काठमाडौं– तेह्रथुमको आठराई गाउँपालिकामा रहेको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको पुर्ख्यौली घरलाई संग्रहालय बनाउने तयारी गरिएको छ।
संग्रहालयसँगै कृषि अनुसन्धान केन्द्र बनाउन उनको पुर्ख्यौली घरसहितको ४ सय रोपनी जग्गा केपी ओली ट्रष्टको नाममा खरिद गरिएको छ।
उनको पुर्ख्यौली घर पहिला रित्तो थियो। चार वर्ष अगाडिबाट उनको घरमा एक परिवार बस्दै आएको छ।
प्रधानमन्त्री ओली आइतबार आफ्नो जन्मदिन मनाउन पुर्खौली थलोमा पुगेका थिए।
उनी हेलिकोप्टरमा सरकारका केही मन्त्री र नेकपामा केही नेतासहित पुर्खौली थलो पुगेका थिए।
उनलाई जन्मथलो लैजान उनको पुर्ख्यौली घर नजिकै हेलिप्याड बनाइएको थियो भने पाँचथरको फिदिमबाट हेलिकोप्टरमा राखेर केक लगिएको थियो।

ओली जन्मदिन मनाउन पुर्खौली थलो आउने भएपछि आठराई गाउँपालिकाले आइतबार सार्वजनिक बिदा नै दिएको थियो।
लागेन आचारसंहिता
प्रधानमन्त्री ओलीले जन्मदिन मनाउन गरेका गतिविधि नेकपाको संगठन विभागले बनाएको आचारसंहिता विपरीत हो।
वामदेव गौतम संगठन विभाग प्रमुख बनेलगत्तै पार्टीका नेता र कार्यकर्ताले पालना गर्नुपर्ने आचारसंहिता बनाएर सर्कुलर गरेको थियो।
जन्मदिन मनाउन तेह्रथुमको आठराई पुगेको टोलीमा नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, खानेपानीमन्त्री बिना मगर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ लगायत थिए। प्रधानमन्त्रीको जन्मोत्सवको तयारीका लागि प्रधानमन्त्रीको सचिवालयका केही सदस्य यसअघि नै तेह्रथुम पुगिसकेका थिए।
प्रधानमन्त्रीको जन्मदिन मनाउनका लागि राज्यसंयन्त्र नै प्रयोग भयो। उनको जन्मदिनका लागि तेह्रथुमको प्रशासन संयन्त्र पनि लागि परेको छ। ओलीको जन्मोत्सव मनाउनका लागि उनी जन्मिएको घर नजिकै हेलिप्याड निर्माण गरिएको थियो।
तर यो आचारसंहिता विपरीत भएको देखिएको छ। ‘छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ। जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ,’ आचारसंहिताको 'ङ' खण्डमा उल्लेख छ।
तर प्रधानमन्त्री ओलीले आफ्नो ६९औं जन्मदिन मनाउन हेलिकोप्टरको प्रयोग मात्र गरेनन्, मन्त्री र पार्टीका नेताहरू लिएर जन्मघर पुगेका थिए।
जन्मदिन पारेर उनको आधिकारिक यूट्युब च्यानलमा उनको बायोग्राफी समेत राखियो आइतबार नै।
बालुवाटारमा पनि केक काटियो
तस्बिर: राजन भट्टराईको फेसबुकबाट
उनी जन्मघर पुग्नुअगाडि बालुवाटारमै पुगेर सरकारका मन्त्रीहरू र पार्टीका नेताहरुले शुभकामना दिएका थिए।
बधाई तथा शुभकामना दिन जानेमा रक्षामन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्बाङलगायत संवैधानिक निकाय निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया थिए।
उनले बुबा मोहनप्रसाद ओली र श्रीमती राधिका शाक्यलाई दायाबाँया राखेर केक काटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।