काठमाडौं- चालु आर्थिक वर्षमा नेपालमा धान उत्पादनमा गिरावट आएको छ। अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा करीब ५९ हजार मेट्रिक टन गिरावट आएको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग तथा अन्तर्गतका केन्द्रीय कार्यालयहरु, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलगायत अन्तर्गतका कृषि विकास निर्देशनलायबाट स्थलगत अनुमानका लागि खटिएको टोलिले तयार पारेको प्रतिवेदनले उत्पादनमा गिरावट देखाएको हो।
धान उत्पादनको तथ्यांक हेर्दा गत आर्थिक वर्षमा नेपालको धान उत्पादन अहिलेसम्मकै उच्च अर्थात् ५६ लाख १० हजार मेट्रिक टन थियो। आर्थिक वर्ष २०७२/७३ देखि २०७६/०७७ सम्म नेपालमा धान उत्पादन विश्लेषण हेर्दा अघिल्ला वर्षहरुका तुलनामा धान उत्पादन बढ्दै गइरहेको थियो।
अघिल्लो वर्षको तुलनामा यो वर्षसमेत धान उत्पादन बढ्ने अपेक्षा थियो। तर, नेपालमा गरिमा धान प्रकरणसँगै धानको उत्पादनमा गिरावट आएको हो। गरिमा जातको बिउ भनेर लगाइएको धानमा बाला नै लागेन।
चितवनलगायत विभिन्न १३ जिल्लाका १ हजार ४ सय हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धानमा बाला नलागेको भन्दै कृषि मन्त्रालयले प्रारम्भिक प्रतिवेदन तयार पारेको थियो।
जमिन बाँझो हुँदा धान उत्पादनमा प्रभाव
यस वर्ष धानको उत्पादन घट्नुमा समयमा रोपाई हुन नसकी केही जमिन बाँझो रहेको मन्त्रालयको दाबी छ।
मनसुन सुरुमा ढिलाइ हुनु, केही स्थानमा किराको प्रकोप तथा बिउका समस्याजस्ता कारणले धान उत्पादन घटेको निष्कर्ष मन्त्रालयको छ। मनसुन ढिलो सुरु हुनु, केही स्थानमा किराको प्रकोप, बिउका समस्याजस्ता प्रमुख कारणहरुले समेत धान उत्पादनमा गिरावट आएको हो।
कुन–कुन वर्षमा धान उत्पादन कति?
आर्थिक वर्ष २०७२/०७३ देखि आव २०७६/०७७ सम्मको धान उत्पादनको अवस्था हेर्दा धान उत्पादनको वृद्धि हुँदै गइरहेको थियो।
आव २०७२/०७३ मा ४२ लाख ९९ हजार ७९ मेट्रिक टन धान उत्पादन भएको थियो। आव २०७३/०७४ मा अघिल्लो वर्षको तुलनामा ९ लाख ३१ हजार दुई सय ४८ मेट्रिक टनले उत्पादन बढेर ५२ लाख ३० हजार ३ सय २७ मेट्रिक टन धान उत्पादन भएको थियो।
आव २०७४/०७५ मा अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा पुनः गिरावट आएको थियो। यो वर्ष ५१ लाख ५१ हजार ९ सय २५ मेट्रिक टन धान उत्पादन भएको थियो। अघिल्लो वर्षको तुलनामा ७८ हजार ४ सय २ मेट्रिक टन गिरावट आएको थियो।
आर्थिक वर्ष २०७५/०७६ मा ५६ लाख १० हजार ११ मेट्रिक टन धान उत्पादन भएको थियो। आव ०७६/०७७ मा ५५ लाख ५० हजार ८ सय ७८ मेट्रिक टन उत्पादन भएको छ। यो अघिल्लो वर्षको तुलनामा ५९ हजार मेट्रिक टनले कमी हो। कृषि मन्त्रालयले भने यसलाई सामान्य गिरावटको संज्ञा दिएको छ।
धान उत्पादन हुने क्षेत्रफल पनि घट्यो
अघिल्लो वर्षको तुलनामा धान उत्पादनको क्षेत्रफल समेत घटेको छ। गत वर्ष १४ लाख ९१ हजार ७ सय ४४ हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको भए पनि यस वर्ष १४ लाख ५८ हजार ९ सय १५ हेक्टर जमिनमा मात्रै धान उत्पादन भएको हो।
गत वर्ष र चालु आर्थिक वर्षलाई तुलना गर्दा यस वर्ष धान उत्पादन क्षेत्रफलमा ३२ हजार ८ सय २९ हेक्टरले कमी आएको छ।
मुलुकबाट उत्पादनशील युवा वर्गको विदेश पलायनबाट कृषि श्रमिक उपलब्धतामा आइपरेको असहजता, घडेरीकरणजस्ता कारणबाट पनि धान क्षेत्रफलमा कमी हुन आएको हो।
उत्पादकत्व बढ्यो
गत आर्थिक वर्षको तुलनामा उत्पादनमा कमी आए पनि उत्पादकत्व बढेको मन्त्रालयको दाबी छ।
उत्पादकत्व वृद्धि हुनुमा उन्नत तथा हाइब्रिड जातका बिउको उपलब्धता तथा प्रयोगमा आएको वृद्धि, औषतको तुलनामा लामो मनसुन अवधि, रसायनिक मलमा असहजता नहुनु र सिँचाइको सहजता भएको मन्त्रालयको दाबी छ।
हिउँदे र वर्षे धान उत्पादनको छुट्टाछुट्टै तथ्यांक
सरकारले हिउँदे (चैते) र वर्षे धानको उत्पादनसम्बन्धी आँकडा छुट्टाछुट्टै राख्न सुरु गरेको छ। गत वर्षदेखि धानबालीलाई चैते र वर्षे धान उत्पादनको अलगअलग विश्लेषण गर्न थालिएको हो।
चैते धानको उत्पादकत्व वर्षे धानको उत्पादकत्वभन्दा उच्च रहेको मन्त्रालयको अध्ययन प्रतिवेदनमा उल्लेख छ। चैते धान उत्पादकत्वका हिसाबले प्रदेश तीन सबैभन्दा उच्च र कर्णाली प्रदेश न्यून रहेको छ।
सम्बन्धित समाचार
गरिमा पीडित किसानले क्षतिपूर्तिका लागि मुद्दा हालुन् : वाणिज्य विभाग
'गरिमा' पीडितलाई क्षतिपूर्ति दिन कानुनी र आर्थिक झन्झट, तेस्रोपटक अध्ययन गर्दै मन्त्रालय
'गरिमा'पीडितले कहिले पाउलान् क्षतिपूर्ति?
‘गरिमाले गरिब बनायो’
चितवनमा गरिमा : १० करोडभन्दा बढीको क्षति, २६ सय ५२ कृषक पीडित
व्यवसायीलाई सधैं छुट!
गरिमा धान पीडित किसानलाई क्षतिपूर्ति दिन संसदीय समितिको निर्देशन
गरिमा धानको बिउ नै नक्कली, ४ महिनामा पाक्नुपर्ने धानमा बाला नलागेपछि किसान चिन्तित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।