चितवन- कात्तिक तेस्रो सातासम्म चितवनमा अधिकांश किसानले धानबाली भित्र्याएर नयाँ बाली लगाइसक्छन्। छोटो समयमा पाक्ने धान लगाएका किसानको खेतमा यो समय विभिन्न जातका तरकारी, आलु, मकै, गहुँलगायत हरियो भइसक्छ। आडैको खेतमा तोरी पहेँलपुर भइसक्दा यसपटक भने गत वर्षको जस्तो दृश्य देखिएको छैन। मंसिर पहिलो सातासम्म पनि यहाँका धेरै किसानको खेतमा धानको बाला झुलिरहेको छ।
हाइब्रिड, उन्नत जातको तथा छिट्टै पाक्ने भनेर कृषि प्राविधिक तथा स्थानीय एग्रोभेट र सहकारीले बीउ सिफारिस तथा बिक्री गरेकाले धेरै किसानले यसपटक छिमेकी मुलुक भारतमा उत्पादन भएको ‘गरिमा’ जातको धान रोपेका थिए। तर, स्थानीय तथा अन्य उन्नत जातका धान पाकिसक्दा गरिमा भनिएको उक्त धानबाली भने अझैसम्म हरियो छ।
कतिपय किसानले दाना नलाग्ने हो कि भन्दै असोजमै धान काटिसकेका छन् भने कतिपयले दाना लाग्ने आशमा धान काटिसकेका छैनन्। अहिले लामो समयसम्म ओसिलो रहने खेतमा राम्रो बाला पनि लागेको छ भने टाँडी खेतमा कि त धानको बोट नै सुकेको छ कि त लागेको बालामा दानाको सट्टा अधिकांश पपटा मात्रै देख्न सकिन्छ। तर बाला लागेको खेतमा पनि किरा-फट्यांग्रा नियन्त्रण नहुँदा सन्तोषजनक फसल उत्पादन हुनसक्ने आवस्था छैन।
चितवनमा सबैभन्दा बढी गरिमा धान लगाइएको क्षेत्र राप्ती नगरपालिकाका किसान करिब १ महिनाभन्दा बढी समय ढिलोगरी धान काट्ने तरखरमा छन्। ‘असार २३ मा छिटो फल्ला भनेर रोपेको धान हो,’ धान खेततिर हात देखाउँदै राप्ती नगरपालिकाका-७, वीरेन्द्रनगरका हर्कबहादुर तामाङले भने, ‘धान खेत यही हो। अब धान नै आउँछ या पपटा, आखिर जेजति धान आउँछ आउँछ, परालको लागि भए पनि काट्नु त पर्यो।’
नेपाल लाइभको टोली बुधबार बिहान तामाङको घर पुग्दा उनी गोठमा भकारी राख्ने ठाउँ बनाउँदै थिए। हाम्रो आग्रहपछि उनी गोठको आँटीबाट तल ओर्लिए र गोठसँग जोडिएको धानखेतको आलीमा उभिएर आफ्ना अन्तरकुन्तर बताउन थाले। बीउ खरिद गर्न जाँदा उनलाई गरिमा धानको नाम नै थाहा रहेनछ।
‘हामीले त यो गरिमा धान भन्ने नाम नै सुनेका थिएनौं। हाइब्रिड धान दिनुहोस् भनेर सहकारीमा जाँदा यसको बीउ दिइयो। खासमा त हामीले सावित्री, मोटा धानभन्दा छिटो पाक्ने धान दिनुहोस् है समेत भनेका थियौं,’ तामाङले थपे, ‘एउटा-एउटा गरी बेर्ना रोपेको हो। अहिले गाँज राम्रो छ तर दाना एक चौथाइ पनि लागेको छैन। अब यो भकारी बनाएर पनि के अर्थ होला र?’
करिब १० कठ्ठामा खेती गर्न ४ केजी गरिमा धानको बीउ खरिद गरेको उनले सुनाए। उनका कुरा सुनिरहँदा कृषकहरुलाई सम्बन्धित निकायबाट आवश्यक जानकारी नै दिइएको रहेनछ भन्ने थाहा पाउन मुस्किल परेन। ‘सावित्री धान पसाइसक्दा गरिमा धान नपसाएपछि हामी बीउ ल्याएको जनसेवा सहकारी संस्थामा गयौं।
त्यहाँ अब यो धान पसाउँदैन, ‘भाले धान’को बीउ परेछ भनियो र हामीले यसको वास्ता गर्नै छोड्यौं,’ अनुहारमा निराश भाव दर्शाउँदै तामाङले भने, ‘केही समयसम्म त केही वास्ता गरेनौं। पछि पानी, मल राखे पनि धान राम्रो भएन। दुःख गरेर लगाएको, त्यसमाथि वर्षभरिलाई खाने धान यही हो, केही समयपछि दाना पो लागिहाल्छ कि भनेर काट्न भने काटेका छैनौं। अरु केही नभए पनि पराल त होला नि भनेर अहिलेसम्म राखेको हो।’
उनी छिटो धान थन्काएर केराउ र भेडे खुर्सानी लगाउने सुरमा थिए। तर, धान पसाउनै समय लागेपछि केराउ र भेडे खुर्सानी त परको कुरा वर्षभरि के खाने भन्ने चीन्तामा छन् उनी। उनले भेडे खुर्सानीका लागि बिरुवासमेत उमारेका रहेछन्। अहिले उनलाई धान काट्न हुने हो होइन, क्षतिपूर्ति पाइने हो होइन भन्ने बारेमा समेत केही जानकारी छैन।
‘पहिला त धान हेर्न आउँछौं पनि भनेका थिए। न त उनीहरु धान हेर्न आए, न त क्षतिपूर्ति पाउने केही टुंगो छ। काटेको धानको त क्षतिपूर्ति पनि पाउँदैन भन्ने सुनेको छ। खोइ काट्ने कि नकाट्ने दोधारमा छु। न त हामीलाई कसैले यसो गर्नुस् भन्छ। न त हाम्रो गुनासो सुनुवाइ हुने कुन ठाउँ हो सोबारे थाहा छ,’ यसो भन्दै गर्दा तामाङको अनुहारमा अलमलको भाव स्पष्ट झल्किन्थ्यो।
अहिले उनले पनि अरु किसानले झैं क्षतिपूर्तिका लागि भन्दै स्थानीय वडा कार्यालयमा निवेदन दिएका छन्। बीउ किन्दा सहकारीले बिल नदिएको बताउँदै उनले भने, ‘अहिले बीउ किनेको बिल बिनै निवेदन दिएका छौं। खोइ क्षतिपूर्ति पनि पाउँछ कि पाउँदैन थाहा छैन।’
हाम्रो टोली पुग्दा उनी क्षतिपूर्ति दिन सरकारी टोली आएको जस्तै सबैकुरा बेलिविस्तार लगाइरहेका थिए। गरिमा धान लगाउने स्थानीय कृषकहरुको समेत नाम बताइरहेका थिए। हामीले आफ्नो परिचय खुलाइसकेपछि भने उनले धानका केही बाला चुँडे र देखाउँदै फोटो खिचेर लान समेत आग्रह गरे।
उनको घरबाट निस्किएपछि हामीसँगै मुल बाटोसम्मै पछिपछि आएका उनले भने, ‘हामी त यसै गरिब, त्यसमाथि गरिमाले झन् गरिब बनायो।’
000
राप्ती-७, वीरेन्द्रनगरकै दिनानाथ भुषालकोमा पुग्दा उनी ४ छोराछोरीसहित गरिमा धान काट्न व्यस्त थिए। साढे ९ कठ्ठाको धान काटेर सकिनै लाग्दा पुगेका हामीलाई उनले नजिकै रहेको आफ्नो घरमा लिएर गए र सुरुमा आफूले धान खरिद गरेको प्याक (खोल) र बिल देखाए।
उक्त खोलमा माथि शंकर धान र तल गरिमा उल्लेख गरिएको थियो। भुषालले एकै प्याकमा २ वटा धानको नाम उल्लेख गर्नु नै गलत भएको जिकिर गरे। ‘साझामा स्पेसल भनेर दिइएको धान हो, अहिले सबै गोलमाल भयो,’ उनको प्रश्न छ, ‘खोलमा माथि शंकर र तल गरिमा भनेर लेखिएको छ। कि त यो शंकर मात्रै हुनुपर्ने कि त गरिमामात्रै। एकै प्याकेटमा कसरी दुई वटा जातका धान राख्न मिल्छ? यो सोझै ठग्ने नियत हो।’
भुषालले देखाएको बील हेर्दा त्यहाँ प्रतिकेजी ३ सय ७५ रुपैयाँमा धानको बीउ बिक्री गरिएको उल्लेख छ। तर, यो बीउ नेपाल आयात गर्दा प्रतिकेजी २ सय ७० रुपैयाँमा मात्रै कारोबार गरिएकोले भुषालले भनेअनुसार व्यवसायीको ठग्ने नियत नै देखिन्छ। किनकि नेपालको कालोबजारी ऐनले खरिद मूल्यमा २० प्रतिशतभन्दा नबढाई बिक्री गर्नुपर्छ। तर, गरिमा धानको बीउको हकमा भने नेपाल भित्राइएको मूल्य कृषकको हातसम्म पुग्दा प्रतिकेजी १ सय ५ रुपैयाँले बढी छ। यसरी हेर्दा यो मूल्य झन्डै ३९ प्रतिशत बढी हो।
तामाङले जस्तै भुषालले पनि जनसेवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ४ केजी धानको बीउ ल्याएर असार १५ मा रोपाइँ गरेका रहेछन्।
कृषि प्राविधककै सल्लाहअनुसार रोपाइँ, गोडमेल तथा मल, औषधि र विषादी राखे पनि फसल भने धेरै ढिलो र निकै कम मात्र लागेको उनको गुनासो छ। ‘सावित्री जस्तै रोप्नुस् भनेर त्यसरी नै रोपियो। साढे ९ कठ्ठामा २ ट्याक्टर गोबर मल राखें। रोप्ने बेला ३५ केजी डिएपी र गोडमेलपछि ४० केजी युरिया समेत राखें। पटकपटक औषधि र विषादीसमेत हालें। तर, फसल ३ भागको एक भाग पनि छैन,’ भुषालले भने।
अघिल्ला वर्षहरुमा अन्य जातका धान लगाउँदा कठ्ठामा ३ देखि ४ मुरीसम्म फले पनि यसपटक गरिमा धानका कारण ३० मुरीसम्म घाटा लागेको उनले आँकडा सुनाए। ‘बाला नलागेपछि मैले त त्यत्तिकै आगो लगाइदिने समेत सोचेको थिएँ। तर, गोठभरि वस्तु छन्। यिनीहरुलाई खुवाउन भए पनि पराल काम लाग्ला भनेर राखेको हुँ। आज भने धेरै राखेर अर्थ देखिन र काटिदिएँ,’ भुषालको निराशामिश्रित स्वर सुनियो।
तामाङजस्तै भुषाल पनि पटक-पटक आफ्ना गुनासा लिएर सहकारी र वडा कार्यालय पुगेका छन्। कतिपय अवस्थामा त सँगै आन्दोलन गर्न पनि पुगेका छन्। तर, तामाङको जस्तै खाली हात फर्किनुपरेको सुनाउँछन् उनी पनि।
‘क्षतिपूर्तिका लागि कतै यति दिए, कतै दिएका छैनन्, कतै पराल भएपछि कठ्ठाको ७ सय मात्रै दिए पनि हुन्छ भनेर हल्ला सुनेको छु,’ उनले भने, ‘हामी पटकपटक सहकारी र वडामा गएर बिन्ती बिसाएका छौं। तर, कहींबाट यथेष्ट जानकारी मिलेको छैन। न त केही सुनुवाइ नै भएको छ।’
भुषालसहित यस क्षेत्रका केही कृषकहरु बुधबार पनि वडा कार्यालयमा क्षतिपूर्ति दिनेबारे भएको प्रगति बुझ्न जाँदै रहेछन्। केही बेरपछि हाम्रो टोली पनि उनीहरुसँगै करिब ३ किलोमिटरको दूरीमा रहेको वडा कार्यालयतर्फ लाग्यो। ‘धेरै धान फलेर मालामाल होला भनेको डामाडोल भयो,’ वडा कार्यालयतर्फ जाँदै गर्दा भुषालले भनेको कुरा सुनेर साथमै रहेका अन्य किसानहरु हाँसे तर उनीहरुको हाँसो क्षणभरका लागि मात्रै थियो भन्ने स्पष्ट हुन्थ्यो।
वडा कार्यालयमा करिब आधा घण्टाको कुराइपछि वडाध्यक्ष सुमिता डल्लाकोटी आफ्नो कार्यकक्षमा छिरिन्। केहीबेर अन्य सेवाग्रहीका कागजातलाई प्रमाणीकरण र फोनमा कुरा गरेपछि उनले आफ्नो कार्यकक्षमा रहेका आधा दर्जन बढी किसानलाई समय दिइन्।
‘हाम्रा त साना-साना बच्चा छन्। गरिमाले गर्दा बच्चाको मुखमा माड नै नलाग्ने भयो। गरिमाले धोखा दियो। अब के गर्ने हो, कसो गर्ने हो?,’ समय पाएपछि भुषालले आफ्नो बिन्ती बिसाए। उनको भनाइमा साथमै गएकी राप्ती-७ कै मञ्जु गुरुङले समेत सहमति जनाउँदै भनिन्, ‘१९ कठ्ठामा लगाएको धानबाट पराल मात्रै आउने भयो, अब के गर्ने हो खोइ?’
कृषकको गुनासो सुनिसकेपछि वडाध्यक्ष डल्लाकोटीले गरिमा धानको समस्या यस वडाको मात्रै समस्या नभएको र यसबाट देशभरकै कृषक मारमा परेको भन्दै कृषकलाई आश्वस्त पार्न खोजिन्। ‘धानमा समस्या देखिएपछि हामीले प्रविधिकलाई विभिन्न कृषकको धान खेतमै लगेर यसको अध्ययन र सोपश्चात् गरिमा धान लगाउने किसानको संख्या, खेतको क्षेत्रफललगायतबारे लगत राख्ने काम गर्यौं,’ अहिलेसम्म वडा तहबाट भएका कामबारे जानकारी दिँदै उनले भनिन्, ‘पहिलो चरणमा ढिलो पसाउँछ भनेर प्राविधिकले भने पनि फेरि दोस्रोपटक केन्द्रले हामीसँग पुनः यस सम्बन्धी विस्तृत प्रतिवेदन माग गर्यो र छोटो समयमै हामीले त्यो प्रतिवेदनसमेत बुझाइसकेका छौं।’
उनले हालसम्म माथिल्लो तहबाट केही निर्देशन र परिपत्र नआएको हुँदा आफूहरु पनि पर्ख र हेरको अवस्थामा रहेको जनाइन्। वडाध्यक्ष डल्लाकोटीले धेरै संख्यामा कृषकको धानबालीमा समस्या देखिएकोले वडा तहबाट क्षतिपूर्तिको व्यवस्था गर्न नसक्ने दोहोर्याइन्।
‘थोरै किसानको हुन्थ्यो भने हाम्रो तहबाट पनि सहयोग गरौं न त भन्न हुन्थ्यो। तर, धेरै कृषकलाई क्षतिपूर्ति दिउँ भन्ने हो भने थोरै दिँदा कृषकको लगानी सम्बोधन हुँदैन, धेरै दिँदा वडाको पूरै वार्षिक बजेटले पनि थेग्दैन,’ उनले थप प्रष्ट पार्दै भनिन्, ‘यो राज्यकै समस्या भएकोले हामी माथिबाट के आदेश आउँछ भनेर कुरेर बसेका छौं। प्रमुख बाली हुनु र धेरै किसानको समस्या भएकोले राज्यकै तहबाट सम्बोधन होस् भन्ने हाम्रो पनि चाहना हो। सोका लागि हाम्रो तर्फबाट गर्नुपर्ने हरसम्भव प्रयास गरिरहेका छौं।’
अन्य किसानसँगै वडा कार्यालय पुगेकी हर्कबहादुर तामाङकी श्रीमती डिल्लीमाया तामाङले क्षतिपूर्ति सम्बन्धमा गाउँघरमा सुनिएका हल्लाबारे स्पष्ट हुन खोज्दै भनिन्, ‘कसैले यो ठाउँमा यति पैसा दियो यहाँ मात्रै दिएको छैन भन्छ, कसैले अब पैसा दिँदैन भन्छ। अब कसको कुरा सुन्नु अनि कसको कुरा पत्याउनु?’
अहिलेसम्म क्षतिपूर्तिबारे कहींकतैबाट निर्णय नभएको र अनावश्यक हल्लाको पछि नलाग्न वडाध्यक्ष डल्लाकोटीले आग्रह गरिन्। ‘अहिलेसम्म क्षतिपूर्तिका सम्बन्धमा कुनै पनि निर्णय भएको छैन। त्यो हुने बित्तिकै म तपाईंहरु सबैलाई खबर पठाउँछु,’ उनले भनिन्, ‘म तपाईंहरुकै सेवाका लागि यहाँ बसेको हुँ। ढुक्क हुनुहोस् म केही खबर आउने बित्तिकै जानकारी गराउँछु।’
वडाध्यक्ष डल्लाकोटीका अनुसार राप्ती-७ मा मात्रै १ सय २१ कृषक पीडित बनेका छन्। एकै कृषकले डेढ विघासम्म गरिमा धान लगाएका छन्। वडा कार्यालयको तथ्यांकअनुसार १० कठ्ठा बराबरमा गरिमा धान लागउने कृषकको संख्या करिब ५० भन्दा बढी छ। जसमध्ये उषा गुरुङ(३० कठ्ठा), दिलमाया चौधरी(२२ कठ्ठा), विन्दू सुवेदी(१५ कठ्ठा) केही प्रतिनिधि कृषक हुन्।
आकँडा सुनिकसेपछि हामीले डल्लाकोटीलाई प्रश्न गर्यौं, ‘किसानहरु पटक-पटक यस्ता समस्याबाट पीडित भइराख्ने, राज्यले आफ्नो संयन्त्र परिचालन गर्न नसक्ने अनि विचौलिया तथा व्यवसायीहरुले खेलिराख्न पाउने अवस्था सिर्जना भएको छ। यस्तो अवस्थामा कृषकहलाई सशक्तिकरणको बाटोमा लैजान स्थानीय सरकारबाट के-कस्ता पहल गर्नसक्ने अवस्था हुन्छ?’
हाम्रो पश्नमा उनले अहिलेसम्म आफूहरुले कृषि क्षेत्रमा आएका हरेक योजनाहरु कृषककै हितमा रहनेगरी अघि बढाएको जवाफ दिइन्। ‘यसका लागि वडा तहमा गरिने विभिन्न भेलाहरुमा हामीले कृषकहरुलाई विभिन्न योजना ल्याउनहोस् पनि भन्छौं। तर, उहाँहरुलाई कृषि क्षेत्र तथा कृषकको सशक्तिकरणको विषय भन्दा विकास निर्माणको विषयले बढी तान्छ,’ उनले भनिन्, ‘कृषि र कृषकका बारेमा त स्वयम् कृषकहरु नै चुप बस्नुहुन्छ। कृषकनै चुप बसेपछि हामीले हचुवाको भरमा योजना तर्जुमा गर्न मिल्दैन। यद्यपि यस सम्बन्धमा विभिन्न तालिम, गोष्ठी तथा भेला गराएर उहाँहरुलाई विभिन्न खेती तथा कृषि क्षेत्रका आयामका विषयमा जानकारी गराउने काम भने भइरहेकै छ। त्यसले आगामी दिनमा पनि निरन्तरता पाउँछ।’
कृषक जनप्रतिनिधबीचको संवाद सुनिसकेपछि हामी त्यहाँबाट करिब १ किलोमिटरको दूरीमा रहेको जनसेवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, खुरखुरेतर्फ लाग्यौं। त्यहाँ पुग्दा ५-६ जना कृषक कृषि प्रविधिकसँग आफ्नो समस्या राख्दै आवश्यक सल्लाह लिइरहेका थिए भने केही औषधि र केही विषादी लिँदै थिए। केही किसान भने गहुँको बीउ खरिदमा व्यस्त देखिन्थे।
केही यस्तै दृश्यमा अलमलिएका हामी संस्थाका व्यवस्थापक रोशन सुवेदीको कार्यकक्षमा पुग्यौं र कृषकका असन्तुष्टि र जिज्ञासा एक-एक गर्दै राख्यौं। सुरुमा उनले यस वर्ष सहकारीबाट कूल १२ क्विन्टल ५० किलोग्राम गरिमा धान बिक्री गरेको जानकारी दिए। नजिकै रहेको प्रशान्त एग्रोभेटबाट सम्झौता गरी अघिल्लो वर्ष जस्तै यस वर्ष पनि सहकारीले कृषकलाई उन्नत जातको भन्दै गरिमा धानको बीउ बिक्री गरेको उनले सुनाए।
‘अघिल्लो वर्ष राम्रो उत्पादन भएको, सरकारले सिफारिस पनि गरेको, सरकारबाट मान्यताप्रप्त कम्पनीले नै नेपालमा बिक्री गरेको तथा अघिल्ला वर्षहरुमा पनि यीनै कम्पनीहरुसँग कारोबार भइरहेको हुँदा पूर्ण विश्वास र सम्झौता गरेरै व्यवसायीसँग बीउ खरिद गरी कृषकलाई बाँडेका हौं,’ व्यवस्थापक सुवेदीले भने, ‘नार्कबाट सिफारिस भएको बीउमा पनि हामी व्यवसायीबाट खरिद गर्नुअघि आफ्नो आन्तरिक संयन्त्रबाट जाँच तथा परीक्षण गरेर मात्रै कृषकलाई बिक्री गर्छौं। यसपटक पनि सबै प्रक्रिया पूरा गरेरै प्रशान्त एग्रोभेटबाट बीउ किनेका हौं। तर, स्याम्पलिङभन्दा बाहेकको बीउमा फरक पर्न गयो। खोलमा गरिमा लेखिए पनि भित्र बीउ भने अर्कै परेछ।’
आफू मर्कामा परेपछि कृषकहरुले यसको भागिदार सहकारी पनि हुनुपर्छ भनेको बताउँदै उनले भने, ‘हो यसमा सहकारीको पनि जिम्मेवारी हुन्छ। तर यो हाम्रो फल्ट होइन। यो व्यवसायीको बदमासीले निम्तिएको समस्या हो। यसका लागि हामीले प्रशान्त एग्रोभेटका सञ्चालक प्रदीप पाठकसँग बैठक गरी जानकारी गराएका छौं र आवश्यक कारबाहीका लागि सम्बन्धित वडा कार्यालयमा समेत पत्र पठाएका छौं।’
उता सहकारीलाई बीउ बिक्री गरेका एग्रोभेट सञ्चालक पाठकले भने कानुनी कारबाहीको प्रक्रियाअनुसार नै आफू अघि बढ्न तयार रहेको बताएका व्यवस्थापक सुवेदीको भनाइ छ।
धानको बीउको हकमा पनि कृषकबाट गुनासो आएकोले सोको समेत सम्बोधन गरिसकेको उनले स्पष्ट पारे। क्षतिपूर्तिका लागि निवेदन दिँदा धानको बीउ लिएको बील अनिवार्य गरिएकोले गत कात्तिक २६ मा संस्थाको बैठक बसी कात्तिक २७ बाट निवेदनअनुसार सबै कृषकलाई बील उपलब्ध गराएको उनले जानकारी दिए।
उनले सहकारीबाट उपलब्ध हुने सेवामा कुनै पनि कमी नगरेको समेत दावी गरे। ‘कृषकका लागि नै खोलिएको हुँदा आवश्यक सरसल्लाह तथा प्राविधिक सहयोगका लागि हामीबाट कुनै कन्जुस्याइँ भएको छैन र हुँदैन पनि,’ सुवेदीले भने, ‘बढी चाप हुने सिजनका बेलासमेत कृषकलाई आवश्यक सरसल्लाह तथा औषधि र बीउबीजन बिक्री गर्न कर्मचारीबाहेक संस्थाका अन्य पदाधिकारी समेत खटिने गर्नुभएको छ। सेवा दिने हकमा हामीले कुनै सम्झौता गरेका छैनौं।’
000
बुधबार दिउँसो राप्तीकै छिमेकी नगरपालिका खैरहनी नगरपालिकातर्फ हामी मोडियौं। खैरहनी गरिमा धानका कारण धेरै क्षति हुने चितवनका नगरपालिकामध्ये दोस्रो नम्बरमा आउँछ।
खैरहनी नगरपालिका-७, मझुई पुग्दा नन्दलाल चौधरी र तेजेन्द्र चौधरी गरिमा धानमा थ्रेसर लगाउन व्यस्त थिए। नाताले दाजुभाइ रहेका उनीहरुमध्ये भाइ तेजेन्द्रले ५ कठ्ठामा लगाएको गरिमा धान काटेर मंगलबार नै थ्रेसर लगाएका रहेछन्।
बुधबार हामी पुग्दा दाइ नन्दलालको ३ कठ्ठामा लगाइएको धानमा थ्रेसर (धान झर्ने मेसिन) लगाइँदै थियो। सुरुमै हामीले थ्रेसरबाट खसेको धान बोरामा भरिरहेकी नन्दलालकी श्रीमती पिउरीकुमारी चौधरीलाई कत्तिको फलेको रहेछ धान भनेर सोध्यौं। धान झरेको बाटातर्फ आँखा मोडाउँदै उनले ‘यी यहीं हेर्नुहोस् न’ भन्दै धान खसेको धारोतर्फ देखाइन्। ‘त्यति धानको घान हाल्दा यति सानो धारो लागेको छ। अब आफैं बुझ्नुस् कि कति धान फलेको छ,’ उनले थपिन्।
धान झार्ने काम चल्दै गर्दा पिउरीकुमारीका छोरा अतिश चौधरीले अघिल्लो वर्ष अर्कै जातको धान लगाउँदा एक कठ्ठामा करिब २ क्विन्टलका दरले धान फलेको बताउँदै भने, ‘हिजो ५ कठ्ठाको धानमा थ्रेसर लगायौं। करिब डेढ क्विन्टल मात्रै धान झर्यो।’
८ कठ्ठा खेतका लागि ६ केजी बीउ किनेको उनको भनाइ छ। ‘गरिमा धान छिट्टै र धेरै फल्ने भनेको सुनेपछि हामीले यही धान नै लगाउने निधो गरेका थियौं। चौधरी एग्रोभेट खुरखुरेबाट पनि यही धान नै लगाउन सुझाव आएपछि गरिमाको बीउ नै किनेर ल्याएका हौं,’ हाँसो मिश्रित स्वरमा उनले थपे, ‘यसपटक त धान लगाएर पराल मात्रै उत्पादन भयो। ५ जनाको परिवार पाल्न अब अरु नै बाटो खोज्नुपर्ने भयो।’
खैरहनी नगरपालिका-९ का कृषक बलराम अर्याल जिल्लामै धैरै क्षेत्रफलमा गरिमा धान लगाउने कृषकमध्येमा पर्छन्। अघिल्लो वर्ष गरिमा नामकै धान रोपेर राम्रै फसल उत्पादन गरेका उनले यसपटक पनि सोही बीउ लगाउँदा भने धोका पाए। राप्ती नगरपालिका-८, ब्रह्मनगरस्थित ३ बिघा क्षेत्रफलमा अर्यालले धान रोपेका हुन्। असार ३/४ र साउन १७/१८ दुईपटक गरी धान रोपेका उनले बीउबीजन व्यवसायीको सल्लाहमै गरिमा धान रोजेका थिए।
‘२ वर्ष जति टाटा नाम गरेको धान लगाएँ। सितिमिति नढल्ने जातको सो धान नपाएपछि बीउबीउजन व्यवसायीकै सल्लाहमा गरिमा लगाएको हुँ,’ उनले भने, ‘गत वर्ष असोज अन्तिमै थन्काएको थिएँ। अहिले मंसिर ६ पुगिसक्दा पनि काट्ने बेला भएको छैन। अब १/२ दिनमा त काट्छु होला।’
ढिलो फल्ने धान भए पनि दानाको आकार र परालको उचाइका हिसावमा भने यसपटक गरिमा भनेर बिक्री गरिएको धान पनि करिब-करिब गरिमा जस्तै लागेको उनले अनुभव सुनाए। ‘यो धान विशेषगरी सिमसार खेतमा हुने धान रहेछ,’ अर्यालले भने, ‘यस वर्ष एक बाली त बर्बाद भइगयो। लगातार स्याहार गर्दा पनि २५ प्रतिशत भन्दा बढी धान उत्पादनमा ह्रास आउने देखेको छु। सिँचाइ र मलखादको प्रयोग नगर्ने कृषको अवस्ता झन के होला?’
बेलैमा बाला नलागेपछि चाँडै पसाउँछ भन्दै औषधि समेत हालेको बताउँदै उनले भने, ‘तर, पनि बाला लागेन।’
खैरहनीमा खाद्य उद्योगसमेत चलाइरहेका उनलाई हामीले यस्तो समस्या कसरी समाधान गर्न सकिएला भनेर जिज्ञासा राख्यौं। ‘वास्तविक हाइब्रिड धान सरकार आफैंले उत्पादन गर्नु नै उत्तम विकल्प हो,’ उनी जवाफमा जोडिए, ‘अहिले नेपालमा मसिनो चामलको माग बढी छ। यसले खाद्यान्न संकट समेत निम्ताइरहेको देखिन्छ। तर, नेपालमा वैज्ञानिकहरुले धान सिफारिस गर्दा मोटा धान मात्रै सिफारिस गर्ने गरिएको छ। चक्लाबन्दी रुपमा खेती गर्ने र सोहीअनुसार बाली सिफारिस गर्ने हो भने अहिलेको समस्या ५० प्रतिशतले घटेर जान्छ।’
000
रत्ननगर नगरपालिका-११, मंगलपुरका रमेश राना मगरले १४ कठ्ठामा गरिमा धान लगाए। पहाडमा समेत हुने प्राविधिक सल्लाहपछि तनहुँमा रहेको ५ रोपनीभन्दा बढी जग्गामा समेत लगेर यही धान रोपेको उनको भनाइ छ।
उनले तनहुँमा त धान नै नपसाएपछि यसअघि नै काटिसकेको बताए। रत्ननगरमा लगाइएको धानमा भने उनले मंगलबार मात्रै थ्रेसर लगाएका हुन्।
‘लामो समय कुरियो। तर राम्रो फल्ने आश नरहेपछि मंगलबार काटिदियौं,’ उनले भने, ‘पहिले नै ढिलोगरी फल्छ भनिदिएको भए किसानलाई धोखा हुने थिएन। उब्जिएको जे-जति छ त्यसैबाट गुजारा चलाउने कृषकहरुलाई यसपटक निकै मार परेको छ। यसमा सरकारले उचित क्षतिपूर्तिको व्यवस्था अनिवार्य गरिदिनुपर्छ।’
कुनै पनि बाली सिफारिस, आयात तथा कृषकलाई रोप्नका लागि दिँदासमेत आवश्यक अध्ययन, अनुसन्धान, जाँच तथा जानकारी दिने काम उल्लेखनीय रुपमा नभएको उनको आरोप छ। ‘गरिमाकै विषयमा पनि सम्बन्धित निकायले समयमै भ्रम चिर्न सफल भएको भए अहिले यस्तो अवस्था आउने थिएन।
यसै त ढिलो उब्जनी भएर अर्को बालीलाई समेत असर परेको छ। त्यसमाथि परागसेचन हुने बेलैमा कृषकले अब फल्दैन भनेर सिँचाइ तथा मलखादको व्यवस्था गरेनन्। यसले अहिले फसल उत्पादन निक्कै कम भएको छ,’ उनले आक्रोश पोखे, ‘ढिलो पाक्ने थाहा भइसकेपछि अन्य बालीको किरा कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा खोइ हामीलाई जानकारी दिएको? यसबारेमा किसानलाई समयमै र भरपर्दो जानकारी दिनुपर्दैन?’
ढिलो बाला लाग्दा धान काटिसकिएको अन्य खेतका किराको आक्रमण तथा पसाउने बेला आवश्यक सिँचाइ र मलखादको प्रयोग नहुँदा यस्तो समस्या आएको स्वीकार्छन् कृषि ज्ञान केन्द्र चितवनका बाली विकास अधिकृत माधव पौडेल। यसमा प्राविधिक र सरकारी टोली सबै किसानको घरघरमा जान नसक्ने भन्दै उनले कृषक आफैंले पनि हल्लाको पछि दौडन छोडी नजिकको सहकारी, एग्रोभेट, कृषि प्राविधिक तथा कृषि ज्ञान केन्द्रमा सम्पर्क राखेको भए यतिसम्मको अवस्था नआउने औंल्याए।
कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकाल पनि गरिमा भनेर रोपिएको धानबालीबाट फसल लिन सकिनेमा केन्द्रले हरसम्भव किसानलाई सचेत गराएको दावी गर्छन्। ‘जुन समयमा किसानहरु हामीकहाँ धान पसाएन भनेर गुनासो लिएर आउनुभयो, सोही समयमै उहाँहरुलाई हामीले पानी र मलखादको राम्रो व्यवस्था गरिरहनुहोस्, अवश्य बाला लाग्छ भनेका थियौं,’ ढकालले भने, ‘तर केही किसानले नयाँ हिउँदे बाली लगाउन धान काट्नु भयो भने अधिकांशले धानबालीमा पानी र मलखादको व्यवस्था गर्न ध्यान दिनु भएन। त्यसकारण अहिले फसल कम उत्पादन भएको हो।’
000
उता भरतपुर महानगरपालिकामा मात्रै करिब १ सय ६४ बिघा क्षेत्रमा गरिमा धान लगाइएको तथ्यांक छ। भरतपुरको विशेषगरी पश्चिम तथा दक्षिण खण्ड धानको उब्जनी क्षेत्र भएकोले पनि सोही क्षेत्रमै गरिमा धान लगाइँदा यस वर्ष समग्र नगरपालिकाको उत्पादनमै ह्रास आउने आँकलन गर्छन् भरतपुर-२४ का वडाध्यक्ष कान्छा मल्ल।
‘भरतपुर-२४ मा मात्रै करिब ४० जना कृषकले धानको क्षतिपूर्तिका लागि भन्दै निवेदन दिनुभएको छ। प्राप्त निवेदनका आधारमा हेर्दा करिब २० विघामा गरिमा धान लगाइएको पाइएको छ। पूरा महानगरकै तथ्यांक हेर्ने हो भने यस वर्ष धान उत्पादनमा ह्रास आउनसक्ने देखिएको छ,’ मल्लको भनाइ छ।
आफू पनि कृषक भएको जनाउँदै उनले कृषकको मर्का बुझ्ने धारणा राखे। क्षतिपूर्तिका लागि पहल गरिरहेको जनाउँदै वडाध्यक्ष मल्लले नगरवासीका लागि केही राहत सहयोग गर्नुपर्छ भन्नेमा महनगर पनि सचेत रहेको जनाए।
‘पटक-पटक कृषकहरु आफ्नो गुनासो लिएर आउनु भएको छ। धानमा बाला लागेन, बाला लागे पनि २५-३० प्रतिशत पनि फसल उत्पादन भएन, भोकमरी लाग्ने भो, क्षतिपूर्ति दिलाइदिनुपर्यो भन्नुहुन्छ। म आफैं पनि कृषक भएकोले तपाईंहरुको समस्या बुझ्छु, क्षतिपूर्तिका सम्बन्धमा सरकारबाट जस्तो परिपत्र आउँछ म सोहीअनुसार जानकारी गराउँछु भनेर आश्वस्त पार्ने काम गर्दै आएको छु,’ उनले भने।
मल्लका अनुसार आगामी शनिबार महानगरको बोर्ड बैठकले कृषकलाई क्षतिपूर्ति दिने सम्बन्धमा आवश्यक निर्णय लिने जानकारी दिए। ‘महानगरको आर्थिक समितिको बैठक बसी यस सम्बन्धमा छलफल गरिएको छ,’ उनले भने, ‘करिब २ सय बिघामा धान नफल्दा हाम्रै नगरवासी किसानलाई खान पाउने अवस्था रहेन, यसमा किसानलाई सहयोग गर्नुपर्छ भन्नेमा नगरपालिका पुगेको छ। क्षतिपूर्तिका हकमा मंसिर ७ गते बस्ने बोर्ड बैठकले निर्णय गर्नेछ।’
कृषकको दुःखमा हामी पनि साथमै रहनुपर्छ भनेरै आर्थिक समितिको बैठकले क्षतिपूर्ति दिनुपर्ने निर्णय गर्दै उक्त प्रस्ताव बोर्ड बैठकमा लाने निर्णय गरेको उनले स्पष्ट पारे।
000
माडी नगरपालिका-२, जीवनपुरका विनोद पौडेलले बढीमा १ सय २५ दिनसम्ममा पाक्ने भनेर गरिमा धानको बीउ लिए। मध्य असारमा १ विघामा रोपिएको गरिमा धान मंसिर ५ मा आएर मात्रै उनले काटेका छन्। स्थानीय सामा धानसँगै पाक्छ भनेर पहिलोपटक गरिमा जातको धान लगाएका उनले भने, ‘धान काट्ने बेलासम्म खेतमा पतेरो, मुसा र चराको राज चलेको थियो। त्यसमाथि बालामा कालो पोका देखिने समस्या देखिएपछि पूरा नपाक्दै काटियो।’
स्थानीय आरती एग्रोभेट, बरुवाबाट धानमा कालो पोका लाग्दैन, पराल र बाला पनि लामो हुन्छ, रोगनिरोधी जातको धान हो भनेर लिएर लगाए पनि उनले जीवनमै पहिलोपटक यस्तो समस्याको साक्षी हुनुपरेको सुनाए।
पौडेलले बाँकी २ विघामा गोरखनाथ र वार धान लगाएका छन्। ती दुवै धान दसैंको अघिपछि काटेर छरिएको तोरी अहिले फूलिसकेको छ। तोरी र मसुरो छर्ने भनेर सोचे पनि धान काट्न ढिलाई भएपछि बाँकी १ विघामा भने अब मकै छर्ने योजना रहको उनको भनाइ छ।
पोडेल भन्छन्, ‘यसपटक गरिमाले आफ्नै गरिमा राख्न सकेन। धान राम्रै उत्पादन हुन्छ भनेर लगाएको पराल मात्रै हात लाग्ने भो।’
माडी-२, बैराठका चन्द्र सुवेदी आफैं एग्रोभेट सञ्चालक हुन्। उनले सञ्चालनमा ल्याएको माडी भेट फर्मामा प्रायः औषधि र विषादीहरु पाइन्छ। खेती सम्बन्धमा जानकार उनले अघिल्लो वर्ष राम्रै फसल उत्पादन भएको देखेकोले यस वर्ष आफैं गरिमा धान रोपेको बताए।
तर, चिसो जमिनमा मात्रै राम्रो उत्पादन हुने रहेछ भन्ने चाहिँ आफैंले लगाएपछि मात्रै चाल पाए। उनले खेती गरेको १ विघामा चिसो लामो समयसम्म रहने खेतमा धानको बाला राम्रोसँग लागेको छ भने सुख्खा खेतमा भने अनुपातगत रुपमा कम छ।
‘८ केजी बीउ ल्याएर रोपेको हुँ। तर अघिल्लो वर्षजस्तो उत्पादन नहुने भयो,’ सुवेदीले भने, ‘बिहीबार काटेकोमा बाला हेर्दा त्यस्तै १० मुरी जतिको क्षति हुने अनुमान छ।’
तर, सुवेदीले क्षतिपूर्तिका लागि भने स्थानीय तहमा निवेदन दिएनन्। सबै पीडित कृषकले निवेदन दिएका छन्, तपाईंले चाहिँ किन नदिनुभएको त भन्ने प्रश्नमा सुवेदीको जवाफ थियो, ‘निवेदन दिए पनि क्षतिपूर्ति पाइने-नपाइने केही टुंगो छैन। त्यही भएर नदिएको।’
उनले राज्यले बीउ प्रकाणीकरण गर्दा विशेष धेयान पुर्याउनपर्ने सुझाव समेत दिए। ‘पोहोर साल राम्रो उत्पादन हुने, त्यही धान यस वर्ष किन नहुने?,’ उनी भन्छन्, ‘यसमा किसान, एग्रोभेट या सहकारीले केही गर्न सक्दैन। राज्यले नै विशेष कदम चाल्नुपर्छ।’
सुवेदीको भनाइमा सहमति राख्छन् माडी नगरपालिका प्रमुख ठाकुर ढकाल पनि। कुनै पनि स्थानीय संयन्त्रबाट गलत काम भएको नदेखिएकोले उत्पादनकर्ता र नेपालमा बिक्री गर्ने जिम्मा लिएको कम्पनी नै यसमा जिम्मेवार हुनुपर्ने उनको भनाइ छ। नगरप्रमुख ढकालले यी दुवै कम्पनीलाई कारबाहीको दायरामा ल्याउन राज्य पक्षबाटै कदम चालिनुपर्ने बताए।
पीडित कृषकलाई क्षतिपूर्ति उपलब्ध गराउने हकमा भने उनले आफूहरु राज्यको निर्णय कुरेर बसेको बताए। ‘कृषकलाई समस्या त परिसक्यो। अब क्षतिपूर्ति उपलब्ध गराउने हकमा यो देशव्यापी मुद्दा भएकोले राज्यले कुन रुपमा निर्णय गर्छ भन्ने कुरा मूख्य हुन्छ। हामीले एक कदम अघि बढेर क्षतिपूर्ति दिँदा त्यो कम हुने वा नगरपालिकाको आर्थिक अवस्थाले नधान्ने हुनसक्छ। त्यसमाथि संघ सरकारबाट पनि पछि क्षतिपूर्ति दिने निर्णय भएमा दुईपटक क्षतिपूर्ति पाउने अवस्था आउनसक्छ,’ ढकालले भने।
उनले संघ सरकारले क्षतिपूर्ति दिएपछि कोही किसानलाई त्यसले पूर्णरुपमा समेट्न नकसको अवस्थामा नगरपालिकाले हेर्न सक्ने स्पष्ट पारे।
अब स्थानीय सरकार स्थानीय रुपमै बीउ उत्पादनमा सक्षम हुन सक्दैनन् भन्ने प्रश्नमा नगरप्रमुख ढकालले भने, ‘हामी यस दिशामा यसअघि नै अघि बढिसकेका छौं। कृषि आधुनिकीकरण र वैज्ञानिक कृषि प्रणाली अपनाउन तथा कृषकको सशक्तिकरणका लागि नगरस्तरमा कृषि समन्वय समिति गठन गरिएको छ। यसले कृषकका समस्या सुनवाइ तथा कृषि सम्बन्धी हरेक विषयमा आवश्य निर्णय लिन सक्नेछ। आवश्यकता महशुस भएमा बीउबीजन उत्पादन सम्बन्धमा समेत यही समितिले निर्णय गर्न सक्नेछ।’
गरिमा नामक उक्त धानको उत्पादन भारतको हैदरावादस्थित रेनोभा सिड साइन्स इन्डिया प्रालिले गरेको हो भने नेपालमा सनराइज एग्रिकल्चर रिसर्च सेन्टर प्रालि, लमही नगरपालिका-३, दाङले आयात गरेको हो।
सम्बन्धित समाचारः
व्यवसायीलाई सधैं छुट!
चितवनमा गरिमा : १० करोडभन्दा बढीको क्षति, २६ सय ५२ कृषक पीडित
गरिमा धानलाई ‘सिड विपन’को रूपमा प्रयोग गरियो : राजन ढकाल [अन्तर्वार्ता]
'गरिमा'पीडितले कहिले पाउलान् क्षतिपूर्ति?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।