काठमाडौँ– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग आज छलफल गर्ने भएकी छन्।
भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सरकारको अग्रसरतामा पहिलो पटक त्रिपक्षीय संवाद हुने भएको हो।
प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षसँग सघन रूपमा वार्ता र छलफल गरिरहेकी छन्। उनकै आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिबिच निर्वाचनकेन्द्रित संवाद हुनेछ।
निर्वाचनको वातावरण बनाउनका लागि पहिलोपटक सरकार,राजनीतिक दल र जेनजीहरु सम्मिलित त्रिपक्षीय बैठक बोलाइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए।
उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिए। यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलबिच छलफल भएको थियो।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा आवश्यक वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबै पक्ष सकारात्मक भएका थिए।
यसबिचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए। लामो समयपछि भएको औपचारिक राजनीतिक संवादले निर्वाचनको माहोल बनाएको सम्बद्ध पक्षको भनाइ छ।
सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको वातावरणका निम्ति ताकेता गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।