काठमाडौं- बालुवाटारको ललिता निवासस्थित १ सय १४ रोपनी जग्गा हिनामिना प्रकरणमा दुई सय जनाभन्दा बढीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले मुद्दा दायर गर्ने भएको छ।
सिआइबीका प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार उनीहरुविरुद्ध ठगी र सरकारी कागजात कीर्तेमा मुद्दा दायर हुन्छ। एउटै व्यक्तिलाई धेरैवटा मुद्दा लाग्ने उनले बताए।
अख्तियारले मुद्दा दायर गरेका केही व्यक्ति सिआइबीले दायर गर्ने मुद्दामा पनि दोहोरिने पाण्डेले बताए। ‘हरेक कित्ताअनुसारको छुट्टाछुट्टै मुद्दा दायर हुन्छ। जसकारण पनि धेरै मुद्दा र धेरै व्यक्ति आकर्षित हुने भएका हुन्‚’ एसपी पाण्डेले भने।
अबको एक-दुई दिनमै मुद्दा दायर गर्ने सिआइबीको तयारी रहेको उनको भनाइ छ। ललिता निवास प्रकरणमै बुधबार अख्तियार दुरुपयोग अनुसन्धन आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारले मुद्दा दायर गरेकाहरूको सूचीमा तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्वप्रमुख आयुक्त एवं तत्कालीन भौतिक पूर्वाधार सचिव दीपकुमार बस्न्यात, तत्कालीन भूमिसुधार मन्त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी रहेका छन्।
यसैगरी, तत्कालीन सचिव छवि पन्तलगायतका उच्च अधिकारी र कर्मचारी रहेको अख्तियारले जनाएको छ।
ललिता निवास प्रकरणमा सिआइबी र अख्तियारका छुट्टाछुट्टै टोलीले अनुसन्धान गरेका थिए। २०७५ चैत २८ मा गठन गरेको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गत शुक्रबार गृह मन्त्रालयमा आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
सरकारले रोक लगाएको ललिता निवासमा भाटभटेनीद्वारा गोदाम विस्तार
ललिता निवासमा दोषी प्रमाणित भए सजाय भोग्न तयार छु : विष्णु पौडेल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।