काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले ललिता निवास प्रकरणमा आफू दोषी प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको स्पष्टीकरण दिएका छन्।
सोमबारको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै महासचिव पौडेलले ललिता निवास प्रकरणमा आफ्नो पनि नाम आएकोले स्वतन्त्र रुपमा छानबिन गरेर दोषी प्रमाणित कारबाही भोग्न तयार भएको बताएका हुन्।
‘ललिता निवास जग्गा प्रकरणका सम्बन्धमा मलगायत पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र बाबुराम भट्टराईका नामहरु आएका छन्, मैले यस सम्बन्धमा सत्यतथ्य सार्वजनिक गरेको थिएँ,' उनले भने, ‘वर्तमान सरकारले गैरकानूनी तवरमा व्यक्तिका नाममा रहेका सरकारी जग्गा सरकारको स्वामित्वमा फर्काउन चालेको कदमलाई स्वागत गर्दछु। यस प्रकरणमा म दोषी ठहर भएका कारबाही भोग्न तयार भएको अवगत गराउन चाहान्छु।’
उनले सरकार जनताप्रति उत्तरदायी भएको महसुस गरेको बताएका छन्। ‘यस वर्षको नीति तथा कार्यक्रमले एक थान नीति कार्यक्रम प्रस्तुत गरेरमात्र जिम्मेवार पूरा हुँदैन। यसको कार्यान्वयनका विषयमा जोड दिएकोले संसदप्रति जवाफदेहिता रहेको महसुस गरेको छु,' उनले भने।
उनले गत वर्ष समृद्ध नेपाल सुखी नेपालीका आधारहरु तयार भएको दाबी गरे। ‘हामी नीतिगत हिसाबमा दुविधारहित स्थितिमा आएका छौं,’ उनले भने, ‘सरकारले एक थान नीति कार्यक्रम मात्र नभई कसरी कार्यान्वयन भयो भन्ने पनि सरकारले जानकारी गराउन पर्छ यो जवाफदेही छ।’
नेपालको हितलाई केन्द्र भागमा राखेर रेलमार्गका माध्यमबाट दक्षिण र उत्तरी राष्ट्रिसँग थप सम्बन्ध स्थापित गर्ने कुरा यसमा उल्लेख भएको दाबी गरे। ‘समृद्ध नेपाल सुखी नेपालीका लागि विगत आधार वर्ष थियो अब विकास निर्माण हुन्छ,’ पौडेलले भने, ‘राष्ट्रले एउटा गन्तब्य तय गरिसकेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।