नेपाल लाइभमा मंगलबार प्रकाशित उत्कृष्ट छ समाचार
१. सभामुखमा अग्नि एक्ला उम्मेदवार
तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार उद्योगको आरोपमा पुर्पक्षका लागि थुनामा गएपछि रिक्त रहेको प्रतिनिधिसभा सभामुख चयनका लागि औपचारिक प्रक्रिया सुरु भएसँगेै संसद् सचिवालयले जारी गरेको कार्यतालिका अनुसार सोमबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट नेता अग्नि सापकोटाले मात्र सभामुखका लागि उम्मेदवारी दिए।
सभामुख पदका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवारी दिएन। पूर्वमन्त्रीसमेत रहेका कांगेसका नेता भीमसेनदास प्रधानले सभामुखमा नेकपा उम्मेदवार अग्नि सापकोटा नै साझा उम्मेदवार भएको बताए। तर उपसभामुखमा भने आफूहरुको दाबी रहने बताएका थिए। तर कांग्रेस नेता मीन विश्वकर्मा उपसभामुखको विषय नेकपाकै स्वविवेकमा निर्भर रहने बताउँछन्।
राजपासँग राजनीतिक समीकरण निर्माण गरिरहेको नेकपाले प्रमुख प्रतिपक्षी दललाई उपसभामुख दिने विषयमा कांग्रेस पर्ख र हेरको अवस्थामा बसेको छ।
२. रामचन्द्र पौडेलको आफ्नेै कार्यालय
नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई लक्षित गरी वरिष्ठ नेता रामचन्द्र पौडेलले अनामनगरमा सम्पर्क कार्यालय खोल्ने तयारी गरेका छन्। कार्यालय खोल्न उनले भवन भाडामा लिइसकेका छन्। पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको आधारमा आगामी महाधिवेशनको मिति तोके लगत्तै पार्टीभित्र आन्तरिक किचलो बढेसँगै उनलाई सभापतिमा टक्कर दिने नेताको खोजीसमेत सुरु भइरहेको छ। संस्थापनइतर समूहले देउवालाई टक्कर दिने एकल नेताको चयन भने गरिसकेका छैनन्।
महामन्त्री सशांक कोइराला र शेखर कोइराला आ–आफ्नै तरिकाले सभापतिको आशांक्षीको रुपमा महाधिवेशनको तयारी गरिरहेका छन्। आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारको रुपमा पौडेलको नाम पुछारतिर पुगेको बेला उनले छुट्टै कार्यालय नै खोलेर आफ्नो पक्षमा माहौल बनाउने प्रयास गरेका हुन्।
३. रातो पासपोर्ट दुरुपयोगको फाइल खोज्दै सर्वोच्च
कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोग गर्दै अस्ट्रेलियामा मानव तस्करी गराएको अभियोगमा परेको पुनरावेदन मुद्दामा सर्वोच्च अदालतले फाइल खोज्न सुरु गरेको छ। सर्वोच्चले तीन वर्षपछि सो मुदाको फाइल खोल्न थालेको हो।
प्रतिनिधिसभाका सांसदको हैसियतमा प्राप्त कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोग मुद्दाको फाइल तीन वर्षपछि खोज्दै मंगलबार उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौंमा रहेका मुद्दाको फाइल झिकाउने आदेश गरेको हो ।
जिल्ला अदालतले तत्कालीन समयमा केहीलाई दोषी ठहर गर्दै अधिकांशलाई सफाइ दिएको थियो। विशेषले पूर्वसांसद शिवपुजन राय यादव, विश्वनाथप्रसाद यादव र गायत्री साहलाई दोषी ठहर गर्दै जनही तीन महिना कैद र १५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। अन्यले सफाइ पाएका थिए।
थप समाचार : मानव तस्करीमा जोडिएका सांसदको फाइल तीन वर्षपछि खोज्दै सर्वोच्च
४. एमसिसी अन्यौलमै
अमेरिकी सरकारबाट नेपाललाई ५ सय मिलियन डलर सहयोग प्राप्त हुने मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा सत्ताधारी दल नेकपा दुई गुटमा विभाजित छ। एमसिसीको सहयोग लिनका लागि संसद्बाट अनुमोदन हुनुपर्ने नेपाल सरकार र अमेरिकाबीच सम्झौता भइसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओली जति सक्दो चाँडो यो विषय संसदबाट अनुमोदन होस् भन्ने चाहन्छन् भने अन्य केही नेता यसको विपक्षमा खुलेरै लागेका छन्। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड यो विषयमा प्रायजसो मौन देखिन्छन्। तर उनी पनि यो विषयका विपक्षमा रहेको धेरैको आँकलन छ। एमसिसीलाई संसदबाट अनुमोदन गराउने विषयमा निवर्तमान सभामुख कृष्णबहादुर महरासँग पनि नेकपाका केही नेताहरूको विवाद भएको चर्चा हुने गरेको थियो।
एमसिसीको विषय संसदबाट अनुमोदन भइनसकेको अवस्थामा नै अग्नि सापकोटा सभामुख बन्दै छन्। नेकपा भित्रको जुन गुटबाट उम्मेदवारको रुपमा अगाडि सारिए सो गुट एमसिसीप्रति अनुदार छ। त्यसैले सापकोटा सभामुखको उम्मेदवार बन्ने निश्चित भएसँगै एमसिसीको भविष्यप्रति शंका बढाएको छ।
थप समाचार: अग्निको काँधमा एमसिसीको भविष्य
५.अवैधानिक रुपमा आएका मंहगा सवारी वैधानिक बनाउने खेल
सवारी साधन भित्र्याउन आवश्यक पर्याप्त कानुनी आधार विना नेपाल भित्रिएका महँगा १२ गाडीको आयातलाई वैधानिक बनाउने चलखेल सुरु भएको छ।
प्रिन्सा अटोमोटिभ्स, किशोर गेयर र ग्यालेक्सी अटोमोटिभ्सले आयात गरेका हाइब्रिड र इलेक्ट्रिक गाडीको आयात शंकास्पद रहेको भन्दै भन्सार कार्यालयले जाँचपास प्रक्रिया रोकेपछि ती गाडीलाई वैध बनाएर भन्सार जाँचपास प्रक्रिया अघि बढाउन चलखेल शुरु भएको हो।
थप समाचार: अर्थ मन्त्रालय र वाणिज्यको मिलेमतोमा अवैध विलासी गाडी वैध बनाउने खेल
६. चिनी मिलले तिरेनन् किसानको १ अर्ब
माघ ७ भित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने गरी गत पुस १८ मा सरकार र उखु किसानबीच सम्झौता भए पनि अधिकांश किसानले बक्यौता पाउन सकेनन्। माघ ७ भित्र सबै बक्यौता रकम उपलब्ध गराइदिने गरी भएको ५ बुँदे सम्झौताको समय अवधि सकियो । तर किसानले सबेै पैसाा पाएनन्।
उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले हालसम्म उखु किसानहरुले १५ करोड ७५ लाखमात्रै बक्यौता रकम किसानहरुले पाएको बताए।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकाअनुसार अन्य १० वटा चिनी मिलबाट लगभग १ अर्ब बक्यौता रकम उठ्न बाँकी छ। महालक्ष्मी सुगर मिलले किसानलाई १० करोड ९० लाख बक्यौता तिर्न बाँकी छ। अन्नपूर्ण मिलको २६ करोड १० लाख, श्रीराम सुगर मिलको २६ करोड, ७७ लाख, इन्दिरा सुगर मिलको १० करोड ४८ लाख, बाबा बैजुनाथ मिलको २५ लाख ५६ हजार, लुम्बिनी चिनी मिलको १० करोड ७४ लाख, महाकालीको ६२ हजार, रिलाइन्स मिलको ११ लाख ५३ हजार, एभरेस्टको ७ करोड ३९ लाख र वाग्मती खाडसारीको ६ करोड ७५ लाख गरी करिब १ अर्ब रकम बक्यौता तिर्न बाँकी छ।
थप समाचारः चिनी मिलले अझै तिरेनन् किसानको १ अर्ब
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।