काठमाडौं– केन्द्रीयतहका नेता नआउँदा केन्द्रीय कार्यालय सुनसान छ नेपाली कांग्रेसको। गुट, उपगुटले ग्रस्त पार्टीका केन्द्रीयतहका नेताहरु भने आफ्नै कार्यालय खोल्न कस्सिएका छन्।
प्रायः नेताले आफ्नै घरबाट आफ्नो गुट चलाइरहेको बेला १४औं महाधिवेशनलाई लक्षित गरेर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अनामनगरमा सम्पर्क कार्यालय खोल्दैछन्। कार्यालय खोल्न उनले भवन भाडामा लिइसकेका छन्। सोमबारबाट कार्यालय औपचारिकरुपमै सुरु गर्ने तयारी भएको पौडेल निकट स्रोतले बतायो।
पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको आधारमा आगामी महाधिवेशनको मिति तोके लगत्तै पार्टीभित्र आन्तरिक किचलो बढेसँगै उनलाई सभापतिमा टक्कर दिने नेताको खोजीसमेत सुरु भइरहेको छ। संस्थापनइतर समूहले देउवालाई टक्कर दिने एकल नेताको चयन भने गरिसकेका छैनन्।
महामन्त्री सशांक कोइराला र शेखर कोइराला आ–आफ्नै तरिकाले सभापतिको आशांक्षीको रुपमा महाधिवेशनको तयारी गरिरहेका छन्। आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारको रुपमा पौडेलको नाम पुछारतिर पुगेको बेला उनले छुट्टै कार्यालय नै खोलेर आफ्नो पक्षमा माहौल बनाउने प्रयास गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।