काठमाडौं– सबै बक्यौता रकम माघ ७ भित्र उपलब्ध गराउने गरी गत पुस १८ मा सरकार र उखु किसानबीच सम्झौता भए पनि अधिकांश किसानले बक्यौता पाउन सकेका छैनन्।
वर्षौंदेखि आफ्नो उखुको बक्यौता रकम नपाएपछि आन्दोलनरत किसानलाई माघ ७ भित्र सबै बक्यौता रकम उपलब्ध गराइदिने गरी भएको ५ बुँदे सम्झौताको समय अवधि मंगलबारदेखि सकिँदैछ।
उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले हालसम्म उखु किसानहरुले १५ करोड ७५ लाखमात्रै बक्यौता रकम किसानहरुले पाएको बताए। महालक्ष्मी सुगर मिलले १० करोड, अन्नपूर्ण सुगर मिलले ३ करोड ९० लाख र अन्य मिलबाट ८५ लाखमात्र बक्यौता रकम उठेको हो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकाअनुसार अन्य १० वटा चिनी मिलबाट लगभग १ अर्ब बक्यौता रकम उठ्न बाँकी छ। महालक्ष्मी सुगर मिलले किसानलाई १० करोड ९० लाख बक्यौता तिर्न बाँकी छ। अन्नपूर्ण मिलको २६ करोड १० लाख, श्रीराम सुगर मिलको २६ करोड, ७७ लाख, इन्दिरा सुगर मिलको १० करोड ४८ लाख, बाबा बैजुनाथ मिलको २५ लाख ५६ हजार, लुम्बिनी चिनी मिलको १० करोड ७४ लाख, महाकालीको ६२ हजार, रिलाइन्स मिलको ११ लाख ५३ हजार, एभरेस्टको ७ करोड ३९ लाख र वाग्मती खाडसारीको ६ करोड ७५ लाख गरी करिब १ अर्ब रकम बक्यौता तिर्न बाँकी छ।
सम्पर्कमै आउन चाहेनन् उद्योगी
किसानसँग गरिएको सम्झौताअनुसार बक्यौता रकम उपलब्ध गराउन सरकारले उद्योगीहरुसँग पटक पटक सम्पर्क गर्न चाहेको छ। वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगीहरुसँग सम्पर्क गर्न खोज्दा कतिपय उद्योगी सम्पर्कमा आउन नचाहेको मन्त्रालयले जनाएको छ। ‘कतिपय उद्योगीले फोन उठाइरहेका छैनन्, मन्त्रालयले किसानहरुको बक्यौता रकम फिर्ता दिन उद्योगीलाई पत्राचार तथा फोनमार्फत् पनि सम्पर्क गर्ने पहल गरिरहेको छ’ मन्त्रालयका एक अधिकारीले नेपाल लाईभलाई भने।
लुम्बिनी चिनी उद्योग सम्पर्कमै नरहेको मन्त्रालयले जनाएको छ। मंगलबार बक्यौता रकम तिरिसक्नु पर्ने उद्योगहरु मन्त्रालयका कर्मचारीहरुले फोन गर्दा सम्पर्कमा आउन चाहेका छैनन्। मन्त्रालयले उद्योगीलाई दिउँसो ४ बजे छलफलका लागि पत्राचार गरिसकेको छ।
‘आज ४ बजेदेखि उद्योगीसँग मन्त्रालयमा छलफल छ, बक्यौता चुक्ताका सम्बन्धमा हामी छलफल अघि बढाउँछौँ। सकेसम्म बक्यौता चुक्ताका लागि सहमति जुटाउँछौँ’ उद्योग मन्त्रालयका सहसचिव धु्रव घिमिरेले नेपाल लाईभसँग भने।
बक्यौता नपाए फेरि आन्दोलनः किसान
उखु किसानहरुले आफ्नो बक्यौता रकम नपाए पुनः आन्दोलनका लागि सिंहदरबार आउने बताएका छन्। सर्लाहीका उखु किसान रामविलास महतोले आफूले चिनी उद्योगबाट पुरै बक्यौता रकम नपाएको बताए। ‘सम्झौता भएपछि उद्योगले मलाई मेरो १ लाख ८० हजार बक्यौता दिएको छ, अझै ५० हजारभन्दा बढी बक्यौता अन्नपूर्ण सुगर मिलले दिएको छैन’ महतोले भने, ‘आज बेलुकासम्म कुर्छु, त्यसको दुई दिनसम्म पनि कुर्न सक्छु त्यसपछि पनि पैसा दिएन भने सिंहदरबारमा आन्दोलन गर्छु ।’
सरकारले बक्यौता रकम फिर्ता गराउने मिठो आश्वासन दिएर सम्झौता गराएकाले उद्योगीबाट रकम उठाउन सरकारले पहल गर्नुपर्ने किसानहरुले बताएका छन् । आफ्नो बक्यौता रकम नपाए आन्दोलनका लागि सिंहदरबार आउने उनीहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।