काठमाडौं- राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलन तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा भारतीय नागरिक रितेशकुमार मधेशिया र निरज अग्रहरीविरुद्ध मुद्दा दायर गरेको छ।
उनीहरु विरुद्ध ३३ करोड ३२ लाख रुपैयाँ विगो कायम गरी रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।
उनीहरुको साथबाट ३८ लाख ९३ हजार १०० बरामद भएको पनि विभागले जनाएको छ। उनीहरुले भारतबाट नेपाली बैंकमा १६ करोड २५ लाख रुपैयाँ दाखिला गरेको पनि भेटिएको विभागले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।
उनीहरुले भारतबाट नेपालमा अवैध कारोबार गरेको खुल्न आएको पनि विभागले उल्लेख गरेको छ।
'अनुसन्धानबाट उनीहरुको अवैध कारोबार पुष्टि भएपछि हामीले सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरेका छौँ,' विभागका महानिर्देशक दीर्घराज मैनालीले भने।
भारत विहार मोतिहारी जिल्ला मदन सिर्सियाग्राम बस्ने वर्ष ३८ को संजय कुमार सिंह समेतले भन्सार चोरी पैठारी गरेको अभियोगमा ५६ लाख ६० हजार विगो कायम गरी पर्सा जिल्ला अदालतमा मिति २०७६ कार्तिक १५ गते मुद्दा दायर गरेको हो।
यसैगरी विभागले कागजमा लुकाइ कपडा भित्र्याएको भन्दै भन्सार एजेन्टसहित एक भारतीय नागरिक विरुद्ध पनि राजस्व चुहावटको मुद्दा दायर गरेको छ।
भन्सार एजेन्ट नन्दकिशोर मल्ल र भारतीय नागरिक सञ्जयकुमार सिंहविरुद्ध ५६ लाख ६० हजार बिगो कायम गरी जिल्ला अदालत पर्सामा मुद्दा दायर गरेको छ।
वीरगञ्ज भन्सार कार्यालयको प्रज्ञापन पत्र नम्बर एम ७५२१३ बाट भदौ १० गते श्री इन्टरनेशनल ट्रेडिङ हाउसको नाममा जाँचपास भएको १६४३ कार्टुन जेके एलेक्त्रा पेपर लोड भएको गाडीमा कपडा लुकाई छिपाई ल्याइएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।