काठमाडौं- चक्रपथ विस्तार परियोजनाअन्तर्गत कलंकी-महाराजगन्ज खण्ड विस्तारको काम अघि बढेको छ।
चक्रपथ विस्तारको दोस्रो खण्ड कलंकी-महाराजगञ्जमा साइट क्लियर गर्ने काम सुरु भएको आयोजना प्रमुख अमृतमणि रिमालले बताए। ‘साइट क्लियर गर्ने काम सुरु भएको छ,’ उनले भने, 'यो काम गर्न दुई महिना समय र करिब १ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।’
अहिले रुख कटानको काम सुरु भइसकेको र क्रमैसँग बिजुलीका पोल र अन्य संरचना हटाउँदै लगिने उनको भनाइ छ।
कोटेश्वर-कलंकी सडकखण्ड विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्डका रूपमा कलंकी-महाराजगञ्ज विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयारी गरेको छ। आयोजनाले २ महिनाभित्र साइट क्लियर गरेलगत्तै चिनियाँ कम्पनी आयोजना विस्तारका लागि आउने रिमालले जानकारी दिए।
कलंकी-महाराजगञ्ज खण्ड अन्तर्गत ११.६ किलोमिटर सडकमा रहेका खानेपानी, ढललगायत सबै काम सकेर आयोजना निर्माण गरिनेछ। यो खण्डअन्तर्गत स्वयम्भू, ठूलो भर्याङ, महाराजगन्ज चोकलगायतका स्थानको सडक छेउमा रहेका संरचना हटाउन भने केही समस्या देखिएको छ।
सो खन्डको विस्तारका लागि करिब १ अर्ब रुपैयाँ लाग्ने आयोजनाले जनाएको छ। चीन सरकारको सहयोगमा कोटेश्वर-कलंकी सडकखण्ड विस्तार भइसकेको छ।
आयोजनाको साइट क्लियर गरेर सरकारले चीन सरकारलाई सडक निर्माणका लागि हस्तान्तरण गर्नेछ। चीन सरकारले आवश्यक तयारीको काम गरेर निर्माण सुरु गर्नेछ। चक्रपथ विस्तारको दोस्रो खण्डमा दुईवटा ‘अन्डरपास’, १० आकाशे पुल र मुख्य सडकको बीचमा डिभाइडर हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।