काठमाडौं- नेपाल-बंगलादेश प्राविधिक समिति (व्यापार)को चौथो बैठक सकिएको छ।
मंगलबार र बुधबार दुई दिन काठमाडौंमा बसेको बैठकले दुई देशबीच बढदै गरेको व्यापार तथा सम्भाव्य व्यापारबाट दुई वटै पक्षले अधिकतम फाइदा हासिल गर्न प्रयत्न गर्नुपर्ने भन्दै मुख्यगरी व्यापार, पारवहन, लगानीलगायत विषयमा छलफल गरेको थियो।
दुई देशबीच सडक, रेल र आन्तरिक जलमार्ग र हवाई मार्ग र हवाईमार्गमार्फत पारवहन तथा कनेक्टिभिटीका क्षेत्रमा आपसी सहकार्य गर्ने विषयमा पनि छलफल भएको बैठकमा सहभागी एक अधिकारीले बताए।
विषादी परीक्षणका लागि प्लान्ट तथा क्वारेन्टाइनका विषयमा ४ वटा विषयमा समझदारी गर्न आवश्यक प्रकृया पूरा गर्ने सहमति पनि भएको छ।
कृषि विभाग र बंगलादेशको कृषि प्रसार विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बंगलादेशको सम्बन्धित निकाय, साल्ट ट्रेडिङ र ट्रेडिङ कर्पोरेसन अफ बंगलादेश र खाद्य व्यवस्था तथा व्यापार कम्पनी र ट्रेडिङ कर्पोरेसन अफ बंगलादेश बीच समझदारी हुनेछ।
दुई देशका यी निकायबीच हुने अन्तिम सम्झौता भने यसपछि बस्ने सचिवस्तरीय जोइन्ट स्टेयरिङ ग्रुपको बैठकबाट हुने जानकारी दिइएको छ।
सहसचिवस्तरीय बैठकमा भएका छलफलहरुलाई सचिवस्तरीय बैठकमा थप छलफल पछि मूर्त रुप दिनेछ।
छलफलमा नेपाली पक्षले धागो निर्बाध रुपमा बंगलादेशमा सहज पहुँचका लागि आवस्यक व्यवस्था मिलाउन बंगलादेशलाई अनुरोध गरेको थियो।
त्यसैगरी, ठूलो अलैँची, अदुवालगायतका नेपाली कृषिजन्य तथा औद्योगिक वस्तुहरुमा बंगलादेशमा लाग्ने भन्सार दर घटाउन र अतिरिक्त शुल्कहरु हटाई सहजता प्रदान गर्न बंगलादेशसँग आग्रह गरेको थियो।
नेपालका विद्यार्थीहरुले बंगलादेश प्रवेश गर्दा भोग्नु परेको भिषा समस्या व्यवहारिक ढंगले समाधान गर्न ठोस पहल गर्न पनि नेपाली पक्षले बंगलादेश पक्षलाई आग्रह गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।