काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले घरेलु तथा साना उद्योगलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुन आग्रह गरेका छन्।
बुधबार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव केसीले सबै साना तथा घरेलु उद्योग पनि सामाजिक सुरक्षा योजनामा आबद्ध हुन आग्रह गरेका हुन्।
नेपालका साना तथा ठूला जुनसुकै प्रतिष्ठानले पनि आफ्नो प्रतिष्ठानमा कार्यरत श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनु पर्ने र उनीहरुलाई सामाजिक सुरक्षा प्रदान गर्नका लागि सामाजिक सुरक्षा कोषमा सूचिकृत गराउनु पर्ने सचिव केसीले बताए। सचिव केसीले भने, ‘सामाजिक सुरक्षा योजनालाई सरकारले अनिवार्य गरिसकेको छ, अब यसबाट पछि हट्ने होइन, यसमा देखिएका समस्या सुल्झाएर हातेमालो गर्दै अगाडि बढ्ने हो। त्यसैले म तपाईहरुलाई अनुरोध गर्छु, अब साना तथा घरेलु उद्योगहरु पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनुपर्छ।’
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले समेत घरेलु तथा साना उद्योगहरुले सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई सहयोग गर्न अनुरोध गरे।
सरकारले घरेलु तथा साना उद्योगका हर समस्या सम्बोधन गर्न तयार रहेको बताउँदै उत्पादन, प्रशोधन, बजार व्यवस्थापन लगायत क्षेत्रका समस्या सरकारसम्म राखे मात्रै उद्योगमा देखिएका समस्या सम्बोधन गर्न सहज हुने सचिव अर्यालले बताए ।
महासंघकी उपाध्यक्ष शोभा गुरुङले सरकारले अघि सारेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना र नयाँ व्यवस्था अनुसार निर्धारण गरिएको न्यूनतम पारिश्रमिक श्रमिकहरुलाई उपलब्ध गराउन साना उद्योगहरुलाई समस्या रहेको बताइन्।
‘कुनै पनि वस्तु उत्पादन गर्दा खर्च नै बढी छ, त्यो खर्च व्यवस्थापनमा हामीलाई सरकारले कुनै सहयोग गरेको छैन, उत्पादित बस्तुको बजारभाउ निर्धारणका सम्बन्धमा बजार विस्तारका सम्बन्धमा सरकारले कुनै चासो नदेखाउँदा हामी उद्योगी नै मारमा छौँ’ उपाध्यक्ष गुरुङले भनिन्, ‘श्रमिकहरुलाई कसरी न्यूनतम पारिश्रमिक दिने, कसरी सामाजिक सुरक्षा कोषमा समेट्ने साना उद्योगहरु सञ्चालनमा ल्याउनै समस्या छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।