काठमाडौं- चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ६ दशलमव १६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३ दशमलव ८६ प्रतिशत मात्र रहेको थियो।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार भदौ मसान्तसम्ममा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ६ दशमलव ५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५ दशमलव ८९ प्रतिशत रहेको छ।
खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ। त्यसैगरी, गैरखाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः लुगा तथा जुत्ता, घरायसी उपयोगिताका वस्तु तथा सेवा र शिक्षा उपसमूहको मूल्यवृद्धि उच्च रहेको राष्ट्र बैंकले जनाएको छ।
यो अवधिसम्ममा काठमाडौं उपत्यकामा ७ दशमलव ९० प्रतिशत, तराईमा ५ दशलमव ६९ प्रतिशत, पहाडमा ५ दशलमव ०९ प्रतिशत र हिमालमा ५ दशमलव ०२ प्रतिशत मुल्यवृद्धि देखिएको छ। २०७५ भदौमा यी क्षेत्रमा क्रमशः २ दशमलव ९८ प्रतिशत, ३ दशमलव ६८ प्रतिशत, ५ प्रतिशत र ३ दशलमव ३५ प्रतिशत रहेको थियो।
नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव १६ प्रतिशत रहेकोमा भारतमा सेप्टेम्बर महिनामा यस्तो मुद्रास्फीति ३ दशलमव ९९ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही महिनामा नेपालको मुद्रास्फीति ३ दशमलव ८६ प्रतिशत र भारतको ३ दशमलव ७० प्रतिशत रहेको थियो।
२०७६ भदौमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४ दशलमव ६५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त मुद्रास्फीति ८ दशमलव ७० प्रतिशत रहेको थियो। यातायात, उपकरण तथा पार्ट्स, रासायनिक वस्तु र खाद्य पदार्थ उपसमूहको थोक मूल्यवृद्धि उच्च रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।