काठमाडौं- तत्कालीन एपेक्स बैंक (हाल एनसिसी बैंकले प्राप्ती गरेको) घोटला प्रकरणमा संलग्न एक ऋणी उच्च अदालतको आदेशमा धरौटीमा रिहा भएका छन्।
मिलन लामालाई मंगलबार प्रहरीले पक्राउ गरी अदालत पेश गरेको थियो।
लामा थुनछेक बहसपछि दुई लाख धरौटीमा रिहा भएको उच्च अदालतले जनाएको छ।
२ अर्ब बराबर रकम हिनामिना गरेको अभियोगमा बैंकका तत्कालीन पदाधिकारीसहित १८ जना विरुद्ध दायर भएको मुद्दामा उनी धरौटीमा छुटेका हुन्।
उक्त प्रकरणमा नेपाल राष्ट्र बैंकको जाहेरीले बैकिङ कसुरका मुद्दाहरु दायर भएको थियो।
तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा करिब एक अर्ब रुपैयाँ घोटालामा संलग्न एक सय ४८ जना विरुद्ध मुद्दा दायर भएको थियो।
एक सय २७ जनालाई फरार अभियुक्त बनाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सरकारी वकिल कार्यालयमार्फत पाटन उच्च अदालतमा बैंकिङ कसुर मुद्दा दायर गरेको थियो। यो प्रतिवादी भएको अहिलेसम्मकै सबैभन्दा ठूलो बैंकिङ कसुर मुद्दा थियो।
२ महिना लामो अनुसन्धानपछि सिआइबीले ९६ करोड ७७ लाख ५८ हजार ३ सय ९० रुपैयाँ १० पैसा बिगो दाबी गरी मुद्दा दायर गरेको थियो।
प्रारम्भिक अनुसन्धानमा एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ घोटाला भएको बताइए पनि करिब ५३ करोड रुपैयाँ बैंकले धितोको लिलामीबाट उठाइसकेकाले संस्थालाई हानी पुगेको रकम बराबरको बिगो दाबी गरिएको थियो।
ठेकेदारदेखि नेतासम्म तानिएका घोटाला
एपेक्स हाल एनसिसी बैंकमा मर्ज भइसकेको छ। बैंकका तत्कालीन अध्यक्षदेखि कर्मचारीसम्म मिलेर कमसल धितोमा अधिक मूल्यांकन गरी कर्जा प्रवाह गरेका थिए।
कर्जा नतिर्ने नियतले नै कमसल धितोमा गलत मूल्यांकन भएको थियो। मुद्दा दायर गरिएकाहरुमा कांग्रेसका महासमिति सदस्य विष्णु धितालदेखि ‘क’ वर्गका ठेकेदार मनोज भेटवालसम्म उक्त प्रकरणमा मुछिएका थिए।
धिताल एपेक्स बैंकका अध्यक्ष थिए भने मर्जपछि उनी एनसिसीका सञ्चालक थिए। बैंकका सञ्चालक तथा कर्मचारीहरुले मोटरबाटो नभएको, भिरालो तथा बगरमा रहेको जग्गाको अधिक मूल्यांकन गरेर कर्जा प्रवाह गरेका थिए।
सो कर्जा नउठेपछि बैंक समस्यामा परेको थियो। प्रहरीको सिआइबीले तत्कालीन सञ्चालकहरु इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, छविरमण अधिकारी, मधुवनलाल श्रेष्ठलाई पक्राउ गरी यसअघि नै मुद्दा दायर गरेको थियो।
तत्कालीन निमित्त सिइओ ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सागर नेउपाने, मानबहादुर राउत, सुदीप थापा, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, कर्जा अधिकृत मोहन खरेल, सजल बज्राचार्य, प्रमोद भट्टराई र कृवेन्द्र श्रेष्ठलाई पनि पक्राउ गरी मुद्दा दायर गरिएको थियो। त्यस्तै, गलत मूल्यांकन गर्ने नरेश स्वाँर र ऋणि घनश्याम घिमिरे पनि पक्राउ परेका थिए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।