काठमाडौं- अघिल्ला वर्षजस्तै यस वर्ष पनि बैंक तथा वित्तीय क्षेत्रमा लगानीयोग्य रकमको अभाव देखिएको छ।
आर्थिक वर्षको पहिलो दुई–तीन महिनामै तरलता अभावको समस्या देखिएपछि राष्ट्र बैंकले विभिन्न वित्तीय औजार परिचालन गर्न थालेको छ।
आर्थिक वर्ष २०७६/७७ को पहिलो दुई महिनामा खुला बजार कारोबारमार्फत कुल ३० अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले जनाएको छ।
अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थामा देखिएको लगानीयोग्य रकमको अभाव व्यवस्थापन गर्न ८५ अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको थियो।
भदौ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले ३४ अर्ब २ करोड रुपैयाँ स्थायी तरलता सुविधा उपयोग गरेका छन्।
यो अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंक)बाट अमेरिकी डलर ४६ करोड ७ लाख खुद खरिद गरी ५२ अर्ब ४६ करोड रुपैयाँ खुद तरलता प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २८ करोड खुद खरिद गरी ३१ अर्ब ४७ करोड रुपैयाँ खुद तरलता प्रवाह गरिएको थियो।
यो अवधिसम्ममा राष्ट्र बैंकले अमेरिकी डलर ७८ करोड बिक्री गरी ८८ अर्ब १० करोड रुपैयाँ बराबरको भारतीय रुपैँया खरिद गरेको छ।
अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ७२ करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी ८५ अर्ब ६६ करोड रुपैयाँ बराबरको भारतीय रुपैँया खरिद गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।