काठमाडौं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार देशको आर्थिक तथा वित्तीय अवस्था सकारात्मक देखिएको छ। भदौ मसान्तसम्ममा मुलुकको चालु खाता घाटा घटेको छ भने शोधनान्तर स्थिति बचतमा देखिएको छ। यो अवधिमा चालु खाता घाटा २१ अर्ब ७९ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३५ अर्ब १६ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति ८ अर्ब ८३ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २५ अर्ब ४५ करोडले घाटामा रहेको थियो।
भदौ मसान्तसम्मका अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ९६ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ९८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ८० करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब २३ करोड रुपैयाँ बराबर रहेको थियो।
राष्ट्र बैंककाअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६ दशमलव १६ प्रतिशत रहेको छ। साउन भदौं दुई महिनाको औसत मुद्रास्फीति ६ दशमलव ५६ प्रतिशत रहेको छ। समीक्षा अवधिमा आयात १ दशमलव २ प्रतिशतले घटेको छ भने निर्यात २५ दशमलव ९ प्रतिशतले बढेको छ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ०.३ प्रतिशत (अमेरिकी डलरमा १.३ प्रतिशत)ले घटेको छ। भदौ मसान्तसम्मको मुलुकको कुल विनिमय सञ्चिति १० खर्ब ७८ अर्ब ९४ करोड कायम भएको छ। उक्त सञ्चितिले ८ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ।
यस अवधिमा बैंकिङ कारोबारमा आधारित संघीय सरकारको खर्च ४३ अर्ब १२ करोड रुपैयाँ र राजस्व परिचालन १ खर्ब ४१ अर्ब ५१ करोड भएको छ। विस्तृत मुद्राप्रदाय ०.२ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा भने यस्तो मुद्राप्रदाय १५ दशमलव ४ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ०.४ प्रतिशतले बढेको र निजी क्षेत्रतर्फको कर्जा २.५ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७ प्रतिशत र कर्जाको वृद्धिदर २० प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।