काठमाडौं- तिहारलाई उज्यालोको पर्वको रुपमा लिइन्छ। धनकी देवी लक्ष्मीलाई खुसी पार्न घरलाई झिलिमिली पारिने गरिएको छ। विगतमा क्यामुनाको पातको खोरीमा कपासको बत्ती बालेर घर झिलिमिली पारिन्थ्यो। माटोको पालामा कपासको ज्योति बाल्ने प्रचलन पनि लामो समय रह्यो र केही स्थानमा कायमै पनि छ। तर, अधिकांश स्थानमा बत्तीको प्रयोगबारको चेतना नै बदलिएको छ।
केही वर्षयता तिहारमा घर झिलिमिली बनाउन बिजुली बत्तीको अधिकतम मात्रामा प्रयोग हुने गरेको छ। यस्ता बत्ती चीन तथा भारतबाट आयात गरिन्छ। बत्तीको पर्वको रुपमा समेत चिनिने तिहारमा यो वर्ष धेरैजसो बत्ती एलइडीमा आएको व्यवसायीहरुले बताएका छन्।
‘यो वर्ष सबैखाले झिलिमिली लाइट एलइडीमा आएका छन्। पुराना सामान्य खालका लाइट पनि उपलब्ध रहेका छन्,’ नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्वअध्यक्ष महेन्द्रकुमार राठीले भने, ‘नयाँ खाले एलइडी लाइटको माग बढिरहेको छ।’
यो वर्ष क्रिसमस(झिलिमिली) लाइटको मूल्य भने गत वर्षको सरह नै रहेको नेपाल विद्युतीय व्यवसायी महासंघका कार्यबाहक अध्यक्ष रेशम देवकोटाले बताए। गत वर्षको तुलनामा यो वर्ष झिलिमिली बत्तीको व्यापार केही स्थिर देखिएको उनको भनाइ छ। ‘पछिल्लो समय आएका बत्तीहरु टिकाउ हुने भएकाले पनि गत वर्ष किनिएका बत्ती पुनः प्रयोगमा आउँछन्। त्यसकारण पनि यसपाला बिक्री केही घटेको हुनसक्छ,’ उनले थपे, 'यद्यपि तिहार आउन केही दिन बाँकी नै रहेकाले व्यापार बढ्ने अपेक्षामा छौं।’
तिहारमा नेपाली बजारमा ६० देखि ७० करोड रुपैयाँभन्दा बढीको झिलिमिली बत्ती बिक्री हुने अनुमान व्यवसायीहरुको छ। क्रिसमस लाइटका नामले आयात हुने बत्तीको बिक्री पछिल्ला वर्षहरुमा व्यापकरुपमा विस्तार हुँदै गएको तिरुपति मार्केटिङका प्रवन्ध निर्देशकसमेत रहेका राठीको भनाइ छ। ‘नेपाली बजारमा १ सयदेखि १५ सय रुपैयाँसम्मका भिललिमिली बत्ती उपलब्ध छन्। माला बत्तीको लम्बाइअनुसार मूल्य बढ्दै जान्छ,’ उनले भने, ‘हामीकहाँ आउने बत्तीमध्ये करिब ९९ प्रतिशत चीनबाट आउने गरेको छ।’
किन बढ्दैछ बिजुली बत्तीको प्रयोग?
पहिले तिहारमा तामाको दियो, क्यामुनाको पातको खोरी, माटाको दियो (पाला) लगायतमा बत्ती बाली घर झिलिमिली पार्ने चलन थियो। त्यसपछि तिहारमा घर उज्यालो पार्न मैनबत्तीको प्रयोग हुने क्रम बढ्यो।
यस्ता बत्तीहरु प्रयोग गरी झिलिमिली पार्दा घरमा आग्लागी हुने सम्भावना धेरै हुने, लामो समय टिकाउ नहुने, झन्झटिलो हुने तथा नेपालमा लोडसेडिङ पनि हटेकोले तिहारमा क्रिसमस लाइट (बिजुलीबाट बल्ने) को प्रयोग व्यापकरुपमा वृद्धि भएको व्यापारीहरु बताउँछन्।
पछिल्लो समय भारतीय बजारमा समेत चिनियाँ बत्तीले स्थान लिएको व्यवसायी राठीकोे भनाइ छ।
पुराना लाइटले धेरै विद्युत खपत गर्ने भएकाले हिजोआज बजारमा नयाँ प्रविधिका एलइडी क्रिसमस लाइट आएको भन्दै महासंघका कार्यबाहक अध्यक्ष देवकोटाले भने, ‘एलइडी लाइटले पुराना लाइटको तुलनामा १० देखि १५ प्रतिशत विद्युत खपत कम गर्ने भएकाले यस्ता लाइट खोज्नेको संख्या धेरै छ।’
तिहारमा मुख्यगरी स्ट्रिप लाइट, पिपलाइट, डिस्को बल्ब, लेजरलाइट, नेटलाइट लगायतको बिक्री बढि भइरहको छ। यसका साथै रोपलाइट, दियोलाइट, नेटलाइट, फ्रुटलाइट, लाइट भएको लक्ष्मीको फोटो आदिको बिक्री पनि धेरै हुने गरेको व्यवसायीहरु बताउँछन्।
तिहारमा झिलिमिली बत्तीको मात्र नभई सामान्य चिम, सिएफएल, एलइडी बल्ब, ट्युवलाइटको समेत व्यापार उल्लेख्य रुपमा वृद्धि हुने व्यवसायीहरु बताउँछन्।
‘सबैले भिललिमिली बत्ती नै किन्छन् भन्ने होइन, पुराना चिम फेर्ने र होल्डर भएका सबै ठाउँमा बत्ती बालिने हुँदा चिम तथा ट्युवलाइटको बिक्री बढ्ने गरेको छ,’ राठीले भने।
हाल सहरमा मात्र नभई गाउँघरमा समेत घर झिलिमिली पार्न क्रिसमस लाइटको प्रयोग हुन थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।