बेइजिङ- चीनका प्रमुख तीन टेलिकम कम्पनीले इन्टरनेटको फाइभ-जी सेवा सञ्चालनका लागि ८० हजारभन्दा बढी आधार स्टेसन निर्माण सम्पन्न गरेको जनाएका छन्।
चीनले यस वर्षको पहिलो तीन त्रैमासभित्र इन्टरनेट सेवाका लागि पाँचौँ पुस्ताको प्रविधि, फाइभ-जी सेवा सञ्चालनका लागि भौतिक संरचना निर्माणका लागि द्रुत गतिमा काम गरिरहेको छ।
टेलिकम क्षेत्रको व्यवसायको आयतनमा जनवरीदेखि अहिलेसम्ममा गत वर्षको तुलनामा २३.९ प्रतिशतले वृद्धि भएको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले मङ्गलबार जानकारी गराएको तथ्याङ्कमा उल्लेख छ।
टेलिकम कम्पनीले इन्टरनेटको फाइभ-जी सेवा सञ्चालनका लागि चिनियाँ कम्पनीहरूले बढाएको रफ्तारसँगै चिनियाँ स्मार्ट फोन निर्माण कम्पनीहरूले पनि फाइभ-जी सेवा चल्ने मोबाइल सेटको निर्माणलाई पनि विस्तार गरिरहेका जनाएका छन्।
चीन सरकारले फाइभ-जी इन्टरनेट सेवाको व्यावसायिक प्रयोग गर्ने ‘ग्रिनलाइट’ जुनमा दिएसँगै टेलिफोन निर्माण कम्पनीले पनि आफ्ना उत्पादनहरूलाई आधुनिक प्रविधिमैत्री बनाएका छन्।
सन् २०१९ को पहिलो तीन त्रैमासमा चीनले विभिन्न १८ नमूनाका फाइभ-जी स्मार्टफोन निर्माण गरेको छ। उनीहरूले अहिलेसम्म करिब सात लाख ८७ हजार फाइभ-जी मोबाइल सेट बजारमा पठाइसकेको मन्त्रालयअन्तर्गतको एक अनुसन्धानमूलक संस्थाले जनाएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।