काठमाडौं- संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले प्रहरीको न्यायिक हिरासतमा छन्।
बलात्कार प्रयास गरेको भन्दै शाहीले महराविरुद्ध महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा किटानी जोहरी दिएपछि प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाटै गत असोज १९ गते पक्राउ गरेको थियो।
त्यसपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या आएको भन्दै थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ। उनलाई १३ दिन र ५ दिन गरी दुई पटक म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बलात्कार प्रयास कसुरमा बढीमा २५ दिनसम्म प्रहरीको न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान छ।
यसबीचमा प्रहरीले महरामाथिको अनुसन्धानलाई तीव्रता दिँदै आएको छ।
घटनास्थलमा फेला परेका रक्सीका बोतल, चस्माको टुक्रा, जुत्ताको तलुवा, गिलासजस्ता कुराको प्रहरीले फेरेन्सिक जाँच लागि पठाएको छ। तर त्यसको रिपोर्ट भने आइसकेको छैन।
उता प्रहरीले बलात्कार प्रयासका आरोपित महरासँग भने बयान लिइरहेको छ। उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएको महानगरीय प्रहरी वृत्त परिसरका मुद्दा फाँटका डिएसपी कृष्ण चन्द बताउँछन्।
महरा रोशनीको कोठामा गएको र उनको चस्माको टुक्रा र जुत्ताको तलुवा छुटेको बताइएको थियो। यसअघि घटना सार्वजनिक हुनेबेला शाहीले भने चस्माको टुक्रा र जुत्ताको तुलवा महराको भएको आरोप लगाएकी थिइन्।
तर महराले प्रहरी बयानका क्रममा तलुवा र चस्माको टुक्रा आफ्नो नभएको बताएका छन्। बयानका क्रममा उनले महराले भनेका छन्, घर नजिकसम्म गएको हो। तर उनको कोठामा गएको छैन। चस्माको टुक्रा र तलुवा मेरा होइन।’
रोशनीसँग पारिवार सम्बन्ध रहेको र केही समस्यामा परेको भनेपछि सम्झाउन भनेर जाँदा कोठा नजिक पुगेपछि फोन नलागेपछि आफू फर्किएको महराले दाबी गरेका छन्। त्यसो तर मोबाइलको लोकेशनमा पनि उनी देखिँदैनन्। महरा रोशनीको कोठामा गएको मोबाइलको लोकेसनमा नदेखिनुमा उनले मोबाइल ‘स्विच अफ’गरेको वा त्यस समयमा फोन नआएको हुनुपर्ने प्रहरीले जनाएको छ। लामो समयसम्म फोन नआएको अवस्थामा मोबाइलबाट त्यस ठाउँको लोकेसन ट्रयाक हुँदैन।
मोबाइलबाट ट्रयाक हुने लोकेसनबाहेक अन्य प्रमाणबाट भने महरा रोशनीको कोठामा पुगेको प्रष्ट हुन्छ। सुरक्षा गार्डले भने महरा रोशनीको कोठामा गएको भन्ने बताएको बारे महराले भनेका छन्, ‘सुरक्षाकर्मीलाई बस्दै गर्नु म एकैछिनमा फर्किन्छु भनेर गएको हो। तर रोशनीको घर जान्छु भनेको छैन। कुन हिसाबले उहाँहरुले त्यसो भन्नुभयो मलाई थाहा छैन।’
तर प्रहरी अनुसन्धानले उनी रोशनीको कोठामा गएको देखिएको प्रहरीले जनाएको छ। प्रहरीले सिसीटिभी फुटेज, कल डिटेल, रोशनीको चोटको मेडिकल जाँचले उनी रोशनीको कोठमा पुगेको देखिएको प्रहरीले दाबी गरेको छ।
रोशनीको शरीरमा भएको चोट कुटपिटबाट भएको रिपोर्ट आएको थियो। प्रहरीले जाँच गर्न पठाएको चस्मा, तलुवालगायतको रिपोर्ट भने आइसकेको छैन।
महरा रोशनीको घरमा गएका बेला उनीसँग फोन सम्पर्क भएको छ/छैन? त्यसको कल डिटेल, सिसीटिभी फुटेज, चस्मा, तलुवालगायतका प्रमाण पेस गरेर प्रहरीले सरकारी वकिल समक्ष फाइल बुझाउने तयारी गरेको छ। पछिल्लो पटक थपिएको ५ दिनको म्याद भोलि बुधबार सकिँदैछ।
यसैबीच पीडित भनिएकी युवती शाहीले महराबाट कुनै किसिमको बलात्कार प्रयास नभएको भन्दै जिल्ला अदालतमा निवेदन दिएकी छन्। उनको निवेदनले महरालाई राहत मिल्ने र उनी छुट्न सक्न आँकलन पनि गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।