काठमाडौं– पछिल्लो समय हास्य सिरियलबाट चम्किएका कलाकारहरु फिल्म निर्माणमा होमिने क्रम बढ्दो छ। दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे र जितु नेपालको समुहले त नेपाली फिल्मको व्यापारमै ऐतिहासिक रेकर्ड राखिरहेको छ।
दर्शकले हास्य फिल्म रुचाइरहेको समयमा सिताराम कट्टेल ‘धुर्मुस’ले समेत ‘सेन्टी भाइरस’ फिल्म निर्माणको घोषणा गरिसकेका छन्। फिल्मको सुटिङ समेत सम्पन्न भएको खबर आइसकेको छ।
यही समयमा पुराना हास्यकलाकार सन्तोष पन्तले समेत आफ्नो पुरानो चर्चित हास्य टेलिसिरियल ‘हिजो आजका कुरा’को नाममा फिल्म बनाउने घोषणा गरेका छन्।
करीब १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको यो सिरियलमा पन्तले निर्देशन र अभिनय दुवै गर्थे। अहिले फिल्मको निर्देशन भने उनका छोरा साकार पन्तले गर्ने भएका छन्।
हालै राजधानीमा आयोजित एक कार्यक्रमविच निर्माण युनिटले फिल्म निर्माण गर्ने घोषणा गरेको हो। फिल्म काठमाडौंमा अवस्थित चार परिवारको कथामा आधारित रहने बताइएको छ।
‘अहिले नेपालीको दैनिकीमा विदेश जाने लहर थपिएको छ,’ कलाकार पन्तले भने, ‘यही लहरसँगै सिर्जना हुने उत्साह, उमङ्ग र सँगै आउने कठिनाइहरुलाई फिल्ममा हाँस्यास्पद रुपमा प्रस्तुत गरिनेछ। यो चलचित्रले अहिले विदेशमा बस्ने नेपालीको जीवनशैली, सामाजिक जीवनमा पर्ने वाध्यता, कठिनाई र परिवारको दबावलाई प्रस्तुत गर्ने छ।’
पछिल्लो समय फिल्म निर्माणमा बान्डलाई बेच्ने नियतले सिक्वेल र सिरिज निर्माणको क्रम बढ्दो छ। कतै ‘हिजो आजका कुरा’ पनि सिरियलबाट कमाएको ख्यातीलाई फिल्ममा पनि ‘क्यास’ गर्ने प्रयत्न त होइन?

प्रेसमिटमा पत्रकारले सन्तोषसँग यो जिज्ञासा पनि राखे।
जवाफमा पन्तले भने, ‘होइन, हामीले यो फिल्म ब्रान्ड बेच्ने नियतले बनाउन लागेको होइन । ‘हिजो आजका कुरा’ पन्त फिल्म प्रोडसक्नको पहिचान हो। यो नाम फिल्मको कथाको माग हो।’
बाबु सन्तोष र छोरा साकारले तयार पारेको कथालाई सन्दीप किस्नाले पटकथाको रुप दिएका छन्। यो फिल्मलाई रवि सायमीले फिल्म खिच्नेछन् भने संगीत हर्कुलस बस्नेतको संगीत रहनेछ।
यो फिल्मको प्रमुख भूमिकामा सन्तोष र रमा थपलिया देखिनेछन्। सँगसँगै केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्य, विनायक कुइकेल, अनुष्का घिमिरे लगायतको समेत फिल्ममा अभिनय रहनेछ।
ऋचा भने कार्यक्रममै ‘नोस्टाल्जिक’ भइन्। उनले सानोछँदा ‘हिजो आजका कुरा’ सिरियल खुब हेर्ने गरेको र आज यही नामको फिल्मसँग जोडिन पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको बताइन्।
‘‘यो नामसँग मेरो ‘इमोसनल अट्याचमेन्ट’ छ,’ उनले भावुक हुँदै भनिन्, ‘सानोछँदा हरेक शुक्रबार म यो सिरियल हेर्न छुटाउँदिन थिएँ। मेरो बुबालाई पनि निकै मनपर्ने सिरियल थियो यो। अहिले यही नाममा बन्न लागेको फिल्मसँग जोडिन पाउँदा म एकदमै खुसी छु।’
रिमा पनि यो फिल्मसँग जोडिन पाएकोमा निकै दंग देखिन्थिन्। तर, शुक्रबार भएको फिल्म घोषणा क्रममा केकी भने सहभागी थिइनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।